अमेरिकी राजदूतले सात पटकसम्म प्रचण्डको नाम लिएपछि ……
नेपालमा एमसीसीको संसदीय अनुमोदनलाई लिएर विवाद बढिरहेका बेला गत बिहीबार बिहान अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रमुख तीन दलका शीर्ष तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन गर्न चेतावनी दिएको खबर बाहिरियो ।
अमेरिकाले दिएको डेडलाइन (फागुन १६) भित्र एमसीसी अनुमोदन नगरे नेपाल सम्बन्धमा पुनर्विचार गर्ने लुको धम्कीपूर्ण अभिव्यक्तिको सर्वत्र आलोचना भयो ।
लुले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा,सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पालैपालो फोन गरेर एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्दै ‘एस र नो’ मा जवाफ मागेका थिए ।
विभिन्न सञ्चार माध्यममा आएका समाचारअनुसार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसँग सामान्य जिज्ञासामात्रै राखेका सहायकमन्त्री लुले माओवादी अध्यक्ष प्रचण्डलाई भने कडा चेतावनी दिएका थिए ।
प्रचण्डसँगको संवादमा लुले नेपालले एमसीसी पास नगरे अमेरिका अर्को कदम चाल्न बाध्य हुने बताएका थिए । साथै,चीनको हस्तक्षेपका कारण पास भएन भन्ने बुझ्छौँ भनेर धम्कीको भाषा बोलेका थिए ।
अमेरिकाले यस्तो धम्की दिएको प्रचण्ड आफैँले सार्वजनिक रुपमै भनिसक्नु भएको छ । आफूले अमेरिकासँग सम्बन्ध बिगार्न नचाहेको तर,अमेरिकाले दबाब दिन नहुने प्रचण्डको भनाइले त्यसको पुष्टि गरेको छ ।
यो घटनाले नेपालमा अमेरिका विरोधी मत बढ्ने बुझेपछि काठमाडौँस्थित अमेरिकी राजदूत सक्रिय हुन थालेका छन् । अस्ति सोमबार राजदूत र्याण्डी बेरीले विदेश मामिलासम्बन्धी लेख्ने विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई आफ्नो निवास कमलादी मोडको कमलकुञ्जमा बोलाएर लामो कुराकानी गरे । सोही दिन बेलुका एउटा टिपोट पठाएर त्यसैमा आधारित भई समाचार लेख्न आग्रहसमेत गरे ।
छलफलका क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै कारण एमसीसी रोकिएको प्रष्ट संकेत गरे । अनौपचारिक कुराकानी हुँदा ‘अफ द रेकर्ड’ भन्दै उनले नेपालका नेताहरुको दोहोरो भूमिकाले गर्दा एमसीसी पास हुन नसकेको भन्दै पटक-पटक प्रचण्डको नाम लिएका थिए ।
त्यहाँ सहभागी एक जनाले बताएअनुसार राजदूत बेरीले सात चोटीसम्म प्रचण्डको नाम लिए । चीनतर्फ संकेत गर्दै उनले भनेका थिए, ‘बाहिरी उक्साहटमा नेपालका नेताहरुले एमसीसीविरुध्द वातावरण बनाए ।’
सो क्रममा उनले नेपाली जनताले स्वविवेकले आफ्नो प्रजातान्त्रिक अभ्यासको उपयोग गर्दै एमसीसीबारे राख्ने धारणाप्रति अमेरिकालाई आपत्ति नहुने तर,कुनै देशको प्रभावमा परेर गरिने निर्णय भने स्वीकार गर्न कठिन हुने बताएका थिए ।
बताइएअनुसार राजदूत बेरीले प्रचण्डको नाम लिएरै नेपालका नेताहरुमा भित्र एउटा अनि बाहिर अर्को कुरा गर्ने प्रवित्ति देखिएको बताएका थिए । यस्तो प्रवृत्तिले संक्रमणकालीन र भ्रष्टाचारजन्य मुध्दा पनि आकर्षित हुने खतरा रहेको भन्दै उनले द्वन्द्वकालीन मुध्दामा प्रचण्ड फस्न सक्ने संकेतसमेत गरेका थिए ।
राजदूत बेरीले सहायकमन्त्री लुले नेपालका नेताहरुलाई फोन गरेको विषयलाई पनि प्रष्ट्याउने प्रयास गरेको बताइन्छ । आफूहरु नेपाललाई यसो गर,उसो गर भनेर दबाब दिने पक्षमा नरहेको तर, दुई देशको सम्बन्ध नबिग्रोस् भन्ने आशयका साथ लुले नेताहरुसँग कुरा गरेको उनको भनाइ थियो ।
नेपालसँग लामो समयदेखिको विश्वसनीय सम्बन्ध रहेकाले यसलाई तलमाथि पारेर स्थिति तनावपूर्ण बनाउन नहुनेमा आफूहरु सचेत रहेको तर,एमसीसी अनुमोदन नभए नेपालजस्तो असल साझेदारसंग भविष्यमा यस्ता मामिला अघि बढाउन रिश्क हुने उनले भनेका थिए ।
राजदूत बेरीले सहायकमन्त्री डोनाल्ड लुले फोन गरेपछि पनि आफूले प्रचण्डसँग भेट गरेको र एमसीसीबारे सकारात्मक जवाफ पाएको दाबी गरे । प्रचण्डले एमसीसी विवाद मिलाउने प्रयास भैरहेकाले फिर्ता नगर्न आग्रह गरेको कुरा “अफ द रेकर्ड’ भन्दै उनले पत्रकारहरुलाई सुनाएका थिए ।
टिप्पणीहरू