हिसिलाको त्यो म्यासेज र बाबुरामको नयाँ दल
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेरद्वारा सैनिक कर्णेलको जागिर सकिएलगत्तै नियुक्त एक निर्वाचन आयुक्तको मोबाइलमा म्यासेज आयो, ‘भाइ बहिनीहरु त्यहाँ आएका छन्, सहयोग गर्दिनु होला !’ बिस्तृत केही नखुलाइएको उक्त म्यासेज पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पत्नी हिसिला यमीको मोबाइलबाट अस्ति दिउँसो गएको थियो ।
‘सहयोग गर्दिनुहोला’ भनिए पनि म्यासेजमा के सहयोग गर्नुपर्ने हो प्रष्ट नलेखिएकाले ती निर्वाचन आयुक्त एकछिन अलमलमा परे । पूर्वमन्त्री तथा एउटा पार्टीको उपल्लो तहको नेताबाट म्यासेज गएपछि आयोगका पदाधिकारी र कर्मचारीबीच आपसी सोधखोज शुरु हुन थाल्यो । कुरा हुँदैहुँदै सचिव गोकर्णमणि दुवाडीसम्मलाई खबर पुग्यो ।
“प्रस्तावित पार्टीको २७ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष नुवाकोटको ककनी-३ का दिपक लामिछाने,दुई उपाध्यक्षमा तनहुँकी रुपी श्रेष्ठ र सर्लाहीका लालबाबुप्रसाद साह रहेका छन् भने महासचिवमा गोर्खा खोप्लांगकी सृजना पोखरेल छिन् ।
एक कर्मचारीका अनुसार प्रवक्ता तथा सहसचिव शालिकराम शर्मा पौडेल आफैंले शाखामा गएर बुझ्नुभयो । बुझ्दै जाँदा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उहाँको स्वकीय सचिव रहेका फणिन्द्र देवकोटा दल दर्ताको निवेदन लिएर हिजो बिहान गएका रहेछन् । त्यसपछि बल्ल खुल्यो, ‘भाइ- बहिनीहरुलाई सहयोग गर्दिनु होला’ भन्ने म्यासेजको चुरो कुरो ।
पार्टीमा विवाद हुँदा आफूनिकटमार्फत दल दर्ता गराएर सबै परिस्थितिका लागि तम्तयार रहने अभ्यास नेपाली राजनीतिमा नयाँ होइन । यसअघि तत्कालीन नेकपामा अल्पमतमा परेपछि केपी ओलीले महेश बस्नेतमार्फत सन्ध्या तिवारीका नाममा ‘एमाले’ दर्ता गराउनु भएको थियो । पछि एमालेमा विवाद बढ्दा माधव नेपालले जीवन राईमार्फत नयाँ दल दर्ता गराउनुभयो ।
पछिल्लो समय जसपामा पनि चर्को विवाद छ । अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको भन्दै डा. भट्टराई पक्ष ‘निर्णायक’ लडाईमा छ । सके जसपामै नेतृत्व लिने,त्यो सम्भव नभए ४० प्रतिशत पुर्याएर विभाजन गर्ने उनीहरुको तयारी छ,भनिन्छ । त्यसैका लागि भट्टराईले पत्नी यमीमार्फत नयाँ दल दर्ता गराउनुभएको हुनसक्छ ।
“बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उहाँको स्वकीय सचिव रहेका फणिन्द्र देवकोटा दल दर्ताको निवेदन लिएर हिजो बिहान गएका रहेछन् ।”
हिसिला यमीले नयाँ दल दर्ता गर्न लागेको खबर दुई दिनअघि नै सार्वजनिक भएको थियो । निर्वाचन आयुक्तलाई नै भनेर यमीले पहल गरेपछि उनकै योजनामा दल दर्ता भएको प्रष्ट भएको छ । आयोग स्रोतका अनुसार यमीका भाइबहिनीहरुले प्रस्ताव गरेको पार्टीको नाम ‘समावेशी लोकतान्त्रिक पार्टी’ हो । उनीहरुले दल दर्ताका लागि बुझाएको निवेदनमा ‘३:२ लम्बाई र चौडाइको अनुपातमा माथि सेतो,वीचमा रातो र तल हरियो रंग पृष्ठभूमि भएको,बीच भागमा निर्वाचन चिन्ह अंकित दलको झण्डा र चुनाव चिन्ह आँखा प्रस्ताव गरेका छन् ।
त्यस्तै,गोलाकार घेराभित्र माथिल्लो भागमा ‘इन्क्लुसिभ डेमोक्र्याटिक पार्टी’,तल्लो भागमा ‘समावेशी लोकतान्त्रिक पार्टी’ तथा वीचमा निर्वाचन चिन्ह अंकित दलको छाप प्रस्ताव गरिएको छ ।
दर्ताका लागि प्रस्तावित उक्त पार्टीमा २७ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । जसमा अध्यक्ष र महासचिवसहित सात जना पदाधिकारी रहेका छन् । प्रस्तावित पार्टीको २७ सदस्यीय केन्द्रीय कमिटीमा ११ जना महिला र १६ जना पुरुष छन् ।
अध्यक्षमा नुवाकोटको ककनी-३ का दिपक लामिछाने,दुई उपाध्यक्षमा तनहुँकी रुपी श्रेष्ठ र सर्लाहीका लालबाबुप्रसाद साह रहेका छन् भने महासचिवमा गोर्खा खोप्लांगकी सृजना पोखरेल छिन् ।
२७ जनालाई भट्टराईका स्वकीय सचिव फणिन्द्रले हिजो आयोगमा लगेर हस्ताक्षर सनाखत गराएका हुन् । दल दर्तासम्बन्धी निर्णय आयोगले सम्भवत: आज गर्दैछ ।
टिप्पणीहरू