नेपाली आँगनमा चीन र अमेरिकाको अन्तरद्धन्द
चीनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपाललाई धम्की दिएको भन्दै त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
आज बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालमा एमसीसीबारे भइरहेको विवादमा मुख खोल्दै अमेरिकाले धम्की दिन सुरू गरेको र आफूहरुले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग गर्न सक्ने तर त्यो नेपाली जनताको इच्छामा आधारित हुनुपर्ने उनले बताएका छन् ।
“चीनले नेपाललाई सहयोग गर्न, नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिन अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्छ, तर यो राजनीतिक परिस्थितिविना नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,” वाङलाई उद्धृत गर्दै चिनियाँ साप्ताहिक पत्रिका गोल्बल टाइम्सले लेखेको छ ।
केही दिनअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका नेताहरूसँग अलग-अलग टेलिफोन कुराकानी गरेर फेब्रुअरी २८ सम्ममा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्न भनेका थिए । अन्यथा नेपालसँगको सम्बन्धको समीक्षा गर्न अमेरिका बाध्य हुने उनको चेतावनी थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन कुराकानीमा सहायकमन्त्री लुले नेपालले एमसीसी स्वीकार नगरे विदेशीको प्रभावमा परेको बुझ्ने भनेर चीनतिर संकेत गरेका थिए । आफूलाईसमेत जोडेर नेपालमा अमेरिकी दबाब बढेपछि ‘सफ्ट कुटनीति’ अवलम्बन गर्दै आएको चीन आक्रोशित बनेको हो ।
टिप्पणीहरू