स्थानीय तहले बिजुलीको पैसा नतिरे गाउँ नै अन्धकार
स्थानीय तह र उपभोक्ताहरुले सडक बत्तीको महशुल तिर्न आनाकानी गरेपछि नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिने चेतावनी दिएको छ । पैसा तिर्न १५ दिने अल्टिमेटम दिँदै प्राधिकरणले अन्यथा सेवा काट्ने भनेको हो ।
प्राधिकरणले आज एक सूचना जारी गरी तोकिएको अवधिमा बाँकी सबै भुक्तानी नगरे सेवा बन्द गर्ने प्रष्ट बताएको छ । सडक बत्तीहरुको बक्यौता महसुल बृध्दि हुँदै गएको र केही स्थानीय तहले मासिक बील समर्थन गर्नसमेत आनाकानी गरिरहेको प्राधिकरणको भनाइ छ ।
‘सडक बत्ति प्रयोग गरेबापत यस प्राधिकरणबाट जारी भएका बिलहरु समयमै भुक्तानी गर्न तथा बिल समर्थन गर्न बाँकी रहेका स्थानीय तह तथा उपभोक्ता समूहहरुले नियमानुसार संयुक्त प्रमाणीकरण गरी बील समर्थन र यथाशीघ्र महसुल भुक्तानी गरिदिनुहुन अनुरोध छ’, प्राधिकरणको ग्राहक सेवा निर्देशनालयको सूचनाको भनिएको छ ।
प्राधिकरणले सूचना जारी भएको १५ दिनभित्र बक्यौता रकम सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी प्रमाणीकरण गरिदिन स्थानीय तहहरुलाई भनिएको छ । बक्यौता महसुल भुक्तानी गर्न समर्थन नगर्ने स्थानीय तह वा उपभोक्ता समितिको कार्यालयको विध्युतसमेत काटिदिने प्राधिकरणको चेतावनी छ ।
टिप्पणीहरू