दिल्लीको दुखेसो र केजरीवालको दाउ

भारतको केन्द्रीय राजनीतिमा अहं महत्व राख्ने दिल्ली विशेष प्रदेशको चुनाव फेब्रुअरी ८ मा सम्पन्न भएर आमआदमी पार्टी (आप)का अरविन्द केजरीवालले हप्तादिनमै रामलीला मैदानमा करिब ४५ हजार नागरिकलाई निमन्त्रणा गरी मुख्यमन्त्रीको शपथ तेस्रो पटक लिएका छन् । पहिलोचोटि मुख्यमन्त्री हुँदा बीचमै केन्द्र सरकारले काम गर्न नदिएपछि राजीनामा ठोकेका थिए । जसको रिसमा एउटा रिक्सा चालकले बीचसडक एक थप्पड हिर्काएर गरिबहरूको आशामाथि तुषारापात गरेकोमा असन्तुष्टि पोखेका थिए । उत्तरप्रदेशबाट छुट्टै प्रदेशको मान्यता पाएर सम्पन्न निर्वाचनमा भारतीय कंग्रेसकी शिला दीक्षितले तीन पूर्ण कार्यकाल मुख्यमन्त्री सम्हालिन् । केजरीवाल नगरपालिकामा इञ्जिनियर थिए जो मातहतका कर्मचारीले नटेर्दा कुचो लिई कार्यालय सफा गर्थे, गम्छा/तौलिया लिएर मेच र कुर्सी पुछ्थे ।

अटेरी र अनुशासनहीनप्रति रिस उठे पनि मनमनै क्रोध साम्य पारेर अफिस टाइमपछि सम्म काम गर्थे । सेनाबाट अवकाशप्राप्त अन्ना हजारेले जब तत्कालीन कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स (युपीए) सरकारविरुद्ध लोकपाल विधेयकको माग गर्दै दिल्लीमा लामो सत्याग्रह गरे केजरीवाल उनका धेरै शिष्यमध्ये एक थिए, जसले पछि अन्नाजस्ता सत्यवादीलाई चक्मा दिँदै उनको इच्छाविरुद्ध उनीसँग रहेका मानव जनशक्तिलाई फकाउँदै आप अर्थात् आमआदमी पार्टी खोल्न पुगे । शुरुमा त मान्छेले केजरीवाल र आपलाई भारतमा बढ्दो वामपन्थी हिंसात्मक आक्रमणलाई डाइभर्ट गर्न कंग्रेस वा बिजेपीले नै गरिबको माग उठाउन लगाएको प्रचार गरे । तर ती सबै प्रपोगण्डा गलत सावित भएका छन् किनकि यिनै तीनवटा पार्र्टीबीच त्यहाँ प्रतिस्पर्धा छ । केजरीवाल ती मुख्यमन्त्री हुन् जसले पाकिस्तानी आईएसआई तथा सेनाद्वारा प्रशिक्षित आतंकवादीले कश्मिरको पुलवामामा २०१९ फेब्रुअरी १४ मा आक्रमण गरी दर्जनौं भारतीय सेनाको ज्यान लिँदा भएको जवाफी कारबाहीमा एयर स्ट्राइक गरी करिब तीन सय हाराहारीका आतंकवादी तथा तिनलाई संरक्षण दिइरहेको पाकिस्तानी एक्सन टिम मारिएकोे बारे आफ्नै सेनासँग प्रमाण मागेका थिए ! केजरीवाल खोकेर बोल्ने, चतुर बद्मासजस्तो अपराध गरेर चुप लागी बस्ने र धेरै झुटा आश्वासन जनतालाई बाँड्ने गरेको हुँदा ‘खुजरीवाल’ अर्थात्, बाँदरजस्तो कन्याइरहनेजस्ता विशेषण प्रान्त नेता हुन्, पुलवा आक्रमणपछि उनको पहिचानमा पाकिस्तानको मित्र पनि थपिएको छ ।

दिल्ली निर्वाचनलगत्तै नेपालबाट दैनिक तथा साप्ताहिकमा प्रकाशित बिजेपी, हिन्दू र भारतविरोधी केही लेख पढ्दा अति सतही तथा द्वेषपूर्ण लाग्यो किनकि ७० मध्ये आप पार्टी ६७ बाट ६२ सिटमा झरेको छ भने बिजेपी ३ बाट ८ मा उक्लेको छ । कतिले बिजेपीलाई ‘धर्मान्ध’ पार्टी हो भनेका छन् तर धर्मनिरपेक्ष कहलिने कंग्रेसले किन खाता नै खोल्न नसकी ३ जनाबाहेक सबैले जमानत नै जफत गराए त ? त्यसबारे नेपालका राजनीतिक पण्डितले जबाब दिन सकेका छैनन् । छिमेकी देशका नागरिकले कि सत्यतथ्यमा आधारित विश्लेषण दिनुप¥यो वा नआए अध्ययन गरेर चुप लाग्नुप¥यो ।

केजरीवाल भारतको दुइटै संसद्ले पास गरेको सिएए कानुनविरुद्ध जिन्नाहको सोचवाला भारत तोड्ने केही मुसलमानहरूको जत्थाले दिल्लीको शाहिनबागमा धर्ना बस्दा समर्थक भैदिए । जसको जितले पाकिस्तानमा पटाखा पड्काइँदै छ, जितपछि केजरीवालले ‘वन्दे मातरम् !’ को नारा लगाएका छन् जुन प्रम मोदीको हो । चुनावभन्दा केही महिना अघि केजरीवालले १० रुपैयाँको बस टिकट, बिजुली तथा खानेपानी बिल फ्रिमा दिने नीति ‘लागू’ गरे, तर १३ फेब्रुअरीदेखिको पानीको बिल घरहरूमा पठाउन थालिसकिएको छ भने खाना पकाउने ग्यास सिलिण्डरको मूल्यवृद्धि पनि भएको छ । इस्लामी सरियत कानुनअनुसार टोपी लगाई मुसलमानको ‘हितैषी’ बनेका उनी चुनावको दिन बजरंगवलीको ‘पूजा’ गर्न मन्दिर गएका छन् !

बिजेपी किन हा¥यो त ?
पहिलो, आपको तुलनामा धेरै ढिलो उम्मेदवार तय गर्नु, त्यसमा पनि सिएमबारे नबोल्नु । दोस्रो, आपजस्ता क्षेत्रीय दललाई हलुका ढंगले लिनु जसले ६ महिनादेखि नेशनल मिडियालाई विज्ञापनको नाममा किनेको थियो । तेस्रो, आपका मनीष सिसोदिया पूर्वपत्रकार भएको नाताले सबै ‘दाल गल्ने’ मिडियामा गएर बिजेपीविरुद्ध ‘सम्बन्ध’ बनाए तर बिजेपी सुतिरह्यो । केन्द्रमा हामी भएकाले दिल्लीमा पनि सरकार देऊ भनिरह्यो तर प्रम आवास योजनालगायत दर्जनौं जनहितका कार्यलाई कसरी केजरीवालले लागू हुन दिएनन्, त्यसको पोल खोल्न सकेनन् । बाहिर दिल्लीका बिजेपी अध्यक्ष तथा भोजपुरी फिल्मका सुपरस्टार मनोज तिवारीले आफ्नो नेतृत्वमा चुनाव अघि बढिरहेको बताए तर गृहमन्त्री तथा निवर्तमान अध्यक्ष अमित शाहले एक सांसद परवेश बर्मालाई चुनावी अभियानको क्रेडिट दिए जसले जनतामा द्वन्द्वको भ्रम सिर्जना हुन पुग्यो । बिजेपीका असन्तुष्ट नेतालाई आपले किन्यो, टिकट दियो तर आपबाट रिसाएकालाई बिजेपीले टाइम नै दिन सकेन । बिजेपीभित्रकै कलहले केन्द्रीय मन्त्री, नेता प्रचारमा उत्रे तर स्थानीय क्याडर नै प्रचारमा उत्रे, न भोट हाल्न गइदिए । एकदेखि नौ सय तथा दुई हजारसम्म मतले हार्ने बिजेपीको सिट संख्या ३२ छ र यता जितेको ८ मात्रै छ ! चुनावको पिक आवरमा बिजेपीले अमित शाहबाट जेपी नड्डालाई अध्यक्ष बनाई कमाण्ड थमाइदियो जसले करिब ६ महिनादेखि कार्यवाहक रहेर पनि चुनावी स्ट्राटेजी जान्न सकेनन् । चुनाव प्रचारमा केन्द्रीय अर्थराज्यमन्त्री अनुराग ठाकुरले ‘देशके गद्दारोंको, गोली मारो सालों को !’ जस्ता धर्नामा जुटेका केही मुसलमान विरुद्ध उरालेको नाराबाट जनता भड्किए । बिजेपीलाई प्रमुख शत्रु मानेर पाकिस्तान सरकारका विज्ञान तथा प्रविधि मन्त्रीले केजरीवाललाई जिताउन अपिल गरिदिए ।

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका)

टिप्पणीहरू