सरकारभन्दा मुलुकको सार्वभौमिकता ठूलो : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा रहन एमसीसीको पक्षमा नउभिने दोहोर्याउनु भएको छ ।
आज पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकको सार्वभौमिकताभन्दा सरकार आफ्नो पार्टीका लागि महत्वपूर्ण नहुने प्रष्ट पार्नुभयो ।
देशको स्वाभिमान उँचो बनाउन आफूहरुले नयाँ राजनीतिक यात्रा तय गरेको भन्दै उहाँले एमसीसीका विवादित प्रावधान संशोधन विना प्रतिनिधिसभाबाट पास हुन नसक्ने पनि दाबी गर्नुभयो ।
एमसीसीबारे संसदमा छलफल हुने र उपयुक्त निकास निस्कनेमा अध्यक्ष नेपालले विश्वास व्यक्त गर्नुभयो । उहाँले सही विचार र सिद्धान्त बोक्ने पार्टीलाई नै जनताले विश्वास गर्ने बताउनुभयो ।
एमसीसीको विपक्षमा उभिने बताउनुभएका अध्यक्ष नेपालले आगामी चुनावमा अहिलेको गठबन्धन कायमै रहनेसमेत बताउनुभएको छ । नेपाली काँग्रेसका नेताहरुले माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत हाले गठबन्धन टुट्ने चेतावनी दिइरहेका बेला उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अरुको अस्तित्वमा प्रश्न नउठाउन नेकपा एमालेलाई चेतावनीसमेत दिनुभयो । सो अवसरमा काँग्रेस र एमाले परित्याग गरि सिन्धुपाल्चोक र नुवाकोटका दर्जनौं नेता–कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको बताइएको छ ।
सुब्बा तामाङको सक्रियतामा विजय लामा, पेम्बा लामा, आइतसिं तामाङ, सुनिल वुढाथोकीसहित एमाले र काँग्रेसका दर्जन बढी कार्यकर्ता आफ्नो पार्टीमा आएको समाजवादीले बताएको छ ।
कार्यक्रममा पार्टीका महासचिव डा.वेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल, डा.गंगालाल तुलाधरसहित केन्द्रीय सदस्य र अन्य नेताहरुको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू