सिंहदरबारबाट सिधै बालुवाटार,२० मीनेटमै फिर्ता

सिंहदरबारबाट सिधै बालुवाटार,२० मीनेटमै फिर्ता

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको पक्ष र विपक्षमा उभिएका सत्ता गठबन्धनका शीर्ष नेताहरुले भेटघाट र छलफललाई तीब्रता दिएका छन् । प्रतिनिधिसभामा दर्ता भएको एमसीसी प्रस्तावमा आज छलफल शुरु हुनुपूर्व गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुको दौडादौड बढेको हो ।

आज बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच प्रचण्ड निवास खुमल्टारमा छलफल भएको थियो । एमसीसीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेका यी दुई दलका शीर्ष नेताहरुले आजको संसद बैठकमा कसरी प्रस्तुत हुने भनेबारे छलफल गर्नुभएको बताइएको छ ।

खुमलटारमा एकसरो छलफल गरेर बाहिरिनुभएका नेतात्रय माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित फेरि सिंहदरबारमा बस्नुभएको थियो । खुमलटारबाट सरासर सिंहदरबार पुग्नुभएका उहाँहरुले संघीय संसद सचिवालको भवन नं १ मा रहेको एकीकृत समाजवादी संसदीय दलको कार्यालयमा लामो छलफल गर्नुभएको थियो ।

सिंहदरबार बैठकबारे जानकारी दिँदै माओवादी नेता गुरुङले एमसिसीका विषयमा आफूहरुको अडान कायमै रहेको बताउनुभयो । प्रतिनिधिसभामा टेबल भएको प्रस्तावको विपक्षमा उभिने निर्णयमा अडिग रहँदै अवरुध्द संसद खुलाउने उपायका बारेमा छलफल गरेको उहाँले जानकारी दिनुभयो । एमसीसीजस्तो राष्ट्रिय महत्वको विषयलाई सदनमा छलफल नगराई पास गर्न नहुनेमा जोड दिंदै गुरुङले त्यसका लागि वातावरण बनाउन आफूहरु सक्रिय रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता खनालले आफ्नो पार्टी शीरदेखि तीरसम्म एउटै कुरामा दृढ रहेको बताउनुभएको छ । परिमार्जन र संशोधन बिना यथास्थितिमा एमसीसी पास हुन नसक्ने पनि उहाँले दोहोर्याउनुभयो ।

यता, एमसीसीको पक्षमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेताहरु बिहानैदेखि बालुवाटारमा छन् । प्रधानमन्त्री देउवा,गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू बिहानैदेखि छलफलमा बस्नुभएको हो ।

यसैबीच सिंहदरबार छलफलबाट निस्किएर माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको छ । ११ बजे बालुवाटार छिर्नुभएका प्रचण्ड बीस मीनेटमै त्यहाँबाट निस्कनुभएको छ । नेताहरु केहीबेरमा बानेश्वर जानुहुनेछ ।

टिप्पणीहरू