बालुवाटारमा बैठक चल्दाचल्दै महासचिव शंकर पोखरेललाई रातारात भैरहवाबाट बोलाइयो

बालुवाटारमा बैठक चल्दाचल्दै महासचिव शंकर पोखरेललाई रातारात भैरहवाबाट बोलाइयो

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस र एमालेबीच भएको छलफल भर्खरै सकिएको छ । छलफलमा एमसीसी सम्झौता अनुमोदन र संसदको अवरोध अन्त्यबारे मोटामोटी सहमति भएको बुझिएको छ । छलफलमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा,उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी रहेको बताइन्छ ।

यता एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल हुनुहुन्थ्यो । महासचिव शंकर पोखरेल झण्डै एक घण्टापछि बालुवाटार पुग्नुभएको हो ।

यसअघि दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा पनि एमालेका तर्फबाट पोखरेलबाहेकका नेताहरु सहभागी हुनुहुन्थ्यो । अहिले साँझ अध्यक्षले तीन जना उपाध्यक्ष र रातारात भैरहवाबाट बोलाइएका महासचिव शंकर पोखरेललाई साक्षी राखेर काँग्रेससँग लिखित सहमति गरेको हुनसक्ने अड्कल गरिएको छ ।

एमाले लुम्बिनी प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा भाग लिन बुटवल पुगेका महासचिव शंकर पोखरेललाई तत्काल काठमाडौं आउन खबर गरेपछि उहाँ केही बेरअघि राजधानी आइपुग्नुभएको हो । महासचिव विमानस्थलबाट सोझै बालुवाटार पुगेपछि काँग्रेस र एमालेबीच केही गोप्य सहमति भएको बताइन्छ ।

टिप्पणीहरू