नेपालको बोरा भारतको चिनी, भन्सार छलेर धमाधम भित्रिनी

नेपालको बोरा भारतको चिनी, भन्सार छलेर धमाधम भित्रिनी

नवलपरासीमा प्रशासनकै मिलेमतोमा खुलेआम तस्करी मौलाएको पाईएको छ । नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) मनोज यादव र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको मिलेमतोमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट अबैध ओसारपोसार हुने गरेको दाबी गरिएको छ ।

जानकारहरुका अनुसार प्रशासनको संरक्षण पाएका दुबैतर्फका तस्करहरुले भन्सार छलेर ल्याइएको चिनी सीमा क्षेत्रमा भण्डारण गरी नेपाली बजारमा बिक्री गर्ने गरेका छन् । सस्तो मूल्यमा भन्सार छलेर ल्याइएको चिनी नेपाली बोरामा प्याकिङ गरेर नक्कली बिजक बनाई यहाँको बजार भाउमा खुलमखुला बिक्री भैरहेको छ ।

जिल्लाको सनही,गेर्मी,अमानीगन्ज, महेशपुर भुजुवा,पाँचपेडा वासहिया, रामनगर गुठी पर्सरी र बर्दघाट दक्षिणी क्षेत्रमा बिगतमा पनि अबैध धन्दा हुने गरेका थिए । अहिले चिनीमात्र होइन,हरियो केरा पनि निर्वाध तरिकाले अबैध रुपमा भित्र्याउने गरिएको छ । यसबारेमा केरा उत्पादक संघ र चिनी उत्पादक संघको तर्फबाट पनि बारम्बार जिल्ला कृषि ज्ञान कार्यालय र प्रधानमन्त्री केरा जोन कार्यालयमा गनासो आउने गरेको कृषि ज्ञान केन्द्र कार्यालय परासीका प्रमुख शिव अर्यालले बताएका छन् ।

कार्यालय प्रमुखहरुको बैठकमा पनि यसबारे कुरा उठाएको उनले बताए । तर अवैध ओसारपोसारको गुनासो अहिले झन् बढी आउने गरेको अर्यालको भनाइ छ । नेपाली उत्पादनले न्यायोचित बजार मूल्य नपाई रहेको अवस्थामा प्रशासनकै केही व्यक्तिहरुको प्रत्यक्ष संलग्नतामा यस प्रकारको गतिबिधी हुनु नेपाली किसानमाथिको अपराध हो भने कानुनको ठाडो चनौति पनि हो ।

उता, राजस्व चुहावट नियन्त्रण गर्ने निकाय राजस्व अनुसन्धान कार्यालय पनि यो बेथितीका अगाडि निकम्माजस्तै देखिएको छ । प्रमुख जिल्ला अधिकारी मिश्र केही वर्ष पहिला राजस्व अनुसन्धान कार्यालय बुटवलको प्रमुख भएर बसेका कारण ठूला व्यापारिक घरानाहरुसँग उनको हिमचिम त्यतिबेला देखि नै छ । त्यसकारण राजस्व अनुसनधान कार्यालय उनकासामु निरिह भएको सरोकारवालाहरुको आरोप छ ।

प्रहरी प्रमुख यादव पनि राष्ट्रिय अनसन्धान बिभागबाट नेपाल प्रहरीमा प्रवेश गरेका व्याक्ति हुन् । उनी बरिष्ठ प्रहरी उपरीक्षकमा बढुवाको सम्भावित सूचीमासमेत छन् । प्रहरी प्रमुख र प्रशासन प्रमुखनै मिलेपछि कुनै एउटा कार्यालयले चाहेर रोक नसकिएको प्रशासनका एक कर्मचारिले नाम उल्लेख नगर्ने सर्तमा भने ।

टिप्पणीहरू