माओवादी बैठक सकियो,वीचको बाटोबाट एमसिसी पास गरिने, गठबन्धन बैठक केही बेरमा

माओवादी बैठक सकियो,वीचको बाटोबाट एमसिसी पास गरिने, गठबन्धन बैठक केही बेरमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठक सकिएको छ । बिहान ८ बजेदेखि बसेको बैठक दुई घण्टासम्म चलेको हो ।

बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनको लागि संसदमा पूरक प्रस्ताव लैजानुपर्ने निर्णय गरेको बुझिएको छ । सत्ता गठबन्धनको हिजो राति बालुवाटारमा बसेको बैठकमा समस्या समाधानको नयाँ र बीचको मार्ग पहिल्याएपछि आज माओवादीले सोहीबमोजिम निर्णय गरेको हो ।

बैठकले भियना सन्धि अनुकूल हुने गरी ब्याख्या र सम्झौता कार्यान्वयनमा नेपालको कानुन सर्वोच्च र सर्वोपरी हुनेगरी पूरक प्रस्ताव पारित गर्दै सम्झौता अनुमोदन गर्ने निर्णय गरेको बुझिएको छ ।

सत्ता साझेदार अर्को दल नेकपा एकीकृत समाजवादीले पनि आफ्नो स्थायी समिति बैठक बोलाएको छ । उक्त पार्टीको बैठकपछि दिउँसो बोलाइएको संसदको बैठक अगावै बालुवाटारमा सत्ता गठबन्धनको बैठक डाकिएको छ । उक्त बैठकले पनि सम्झौता अनुमोदनको निम्ति बीचको मार्ग पहिल्याएर आवश्यक निर्णय गर्ने बताइन्छ ।

टिप्पणीहरू