सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा, माधव नेपाल निस्कनुभो

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा, माधव नेपाल निस्कनुभो

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जसपाका अध्यक्ष उपेन्द्र यादव,कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल,कृष्ण सिटौला लगायतका नेताहरु सहभागी छन् ।

यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा उभिने निर्णय गरेको थियो । त्यसपछि बैठकमा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।

बैठक शुरु भएलगत्तै समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बालुवाटारबाट बाहिरिनुभएको छ । उहाँ पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन थापागाउँ अर्पण बैंक्वेटतिर बालुवाटार बैठकको बीचबाटै निस्कनुभएको बुझिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीमाथि छलफल हुँदैछ । सत्तारुढ गठबन्धन सकेसम्म आज नै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा रहेको छ । यसैमा केन्द्रित भएर बालुवाटारमा नेताहरु छलफलमा जुटेका हुन् ।

टिप्पणीहरू