१२ मत नपुग्दा काङ्ग्रेसको चुनाव यताउता

१२ मत नपुग्दा काङ्ग्रेसको चुनाव यताउता

नेपाली काँग्रेस मकवानपुरको १४औं जिल्ला अधिवेशनमा संस्थापन पक्षका उम्मेदवारलाई काउण्टर दिन उठेका निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछाने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । जिल्ला सभापतिको दौडमा लामिछानेले पहिलो चरणको चुनावमा ५१ प्रतिशत मत ल्याउन सकेनन् । दोस्रो स्थानमा समेत रहन नसकेपछि उनी प्रतिस्पर्धाबाटै बाहिरिएका हुन् ।

हिजो बिहानदेखि साँझसम्म भएको मतदानपछिको गणनामा तीन उम्मेदवारबीच चर्को प्रतिस्पर्धा देखिएको थियो । सो क्रममा लामिछाने थोरै मतान्तरले तेस्रो स्थानमा पुगेपछि रिङ आउट भएका हुन् । अब पहिलो स्थानमा रहेका बुध्द लामा र दोस्रो स्थानका आनन्दराम पराजुलीबीच पुनः निर्वाचन हुनेछ ।

तर उक्त निर्वाचनमा लामिछाने पक्षको भूमिका निर्णायक हुने देखिएको छ । निर्वाचन सहायक अधिकृत रामकुमार अधिकारीका अनुसार सभापति पदमा बुध्द लामाले ५ सय ९२ मत पाएका छन् । दोस्रो भएका आनन्दराम पराजुलीले ५ सय ४२ र तेस्रो स्थानका जयराम लामिछानेले ५ सय ३१ मत ल्याएका छन् । १२ मत नपुगेपछि लामिछाने रिङआउट भएका हुन् ।

लामिछाने पहिलो चरणबाट बाहिरिएपछि संस्थापन पक्षलाई हाइसञ्चो भएको छ । तर,अब हुने संस्थापन पक्षका दुई उम्मेदवारको लडाईंमा लामिछानेको भूमिका निर्णायक हुने देखिएको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवाका टिमका खास मानिएका महालक्ष्मी उपाध्याय डिना र सोही टिमका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समर्थन पाएका पराजुली र लामालाई मिलाउन ठूलै कसरत फेल खाएको थियो ।

‘उनीहरुमध्ये एकजना मात्र उम्मेदवार भइदिएको भए पहिलो चुनावमै ५१ प्रतिशत मत पुग्न सक्ने अवस्था थियो’, स्रोतले भन्यो, ‘पराजुलीलाई ब्याक गराउन भएको पहल सार्थक हुन सकेन ।’ पराजुली गत स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकामा झिनो मतान्तरले एमालेका हरिबहादुर महतसँग पराजित उम्मेदवार हुन् भने लामा लामो समयदेखि जिल्लामा निष्ठाको राजनीतिमा टिकेका र अवसर नपाएका नेताको रुपमा चिनिन्छन् ।

टिप्पणीहरू