बजारको कुखुराले गाउँमा आतंक

बजारको कुखुराले गाउँमा आतंक

उदयपुरमा पंछीजन्य रोग बर्डफ्लु भित्रिएको छ । बर्डफ्लुका कारण जिल्लाको ताप्ली गाउँपालिका ३, इनामेका किसानले पालेका लोकल कुखुरा,परेवा,टर्की संक्रमित भएका छन । एक साताअघि स्थानीय होमबहादुर मगर,चक्रबहादुर मगर, बमबहादुर तामाङलगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षणबाट बर्डफ्लु रोग देखिएको हो ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा.अजय साहका अनुसार केन्द्रीय पशुपंछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको छ । गाउँलेका अनुसार कटारी बजारबाट गाउँ लगिएका लेयर्स र ब्रोइलर कुखुराबाट उक्त रोग भित्रिएको हो ।

१ हजार ६ सय २५ भन्दा बढी कुखुरा मरेपछि बर्डफ्लुको आशंकामा स्थानीयका लेयर्स कुखुरा २० वटा,जंगली पंछी ५ वटा र परेवा ३ वटाको नमूना परीक्षणका लागि विराटनगर पठाइएको थियो । रोग पुष्टि भएलगत्तै वरपरका अन्य पशुपंछीहरु नष्ट गर्न मंगलबार बिहानै १ नम्बर प्रदेशअन्तर्गतको कृषि तथा पशुपंछी मन्त्रालयको विज्ञसहितको र्यापिड रेस्पोन्स टिम परिचालन गर्न लागिएको छ ।

महामारी नियन्त्रणका लागि भेटेनरी डाक्टर,प्रयोगशालाका प्राविधिकसहित जिल्ला र स्थानीयका चार वटा टोलीमा झण्डै ३५ जनाको विज्ञ टिम परिचालित हुने जानकारी पनि डा. साहले दिएका छन् । यो निर्णय प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अध्यक्षतामा बसेको जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको आपतकालीन बैठकले गरेको हो । प्रारम्भिक जानकारीअनुसार स्थानीय जातका कुखुरा,परेवा,हाँस र टर्की गरी करिब पाँच हजार पंछी नष्ट गरिने छ ।

टिप्पणीहरू