जनप्रतिनिधिको घुमफिरमा सरकारी ढुकुटीको दोहन
बैतडीको सुर्नया गाउँपालिकाका केही जनप्रतिनिधि कार्यकालको उत्तराद्र्धमा लुम्बिनी र इलाम भ्रमणमा निस्केका छन् । कार्यकाल सकिनैलाग्दा जनप्रतिनिधिहरु कर्मचारीसहित भ्रमणमा गएका हुन् ।
फागुन १० गते भ्रमणमा निस्केको टोली आज इलामबाट फर्कंदैछ । वडा नम्बर १ का वडाअध्यक्ष गजेन्द्र चन्द, २ का हर्क पाण्डे, ३ का दिलाराम भट्ट, ४ का दिनेश भट्ट, गाउँसभा सदस्य प्रकाश लुहार, पुष्पपाल चन्द र हेमा भट्ट अन्य जिल्लाका विभिन्न स्थानीय तहमा घुम्न गएका हुन् । उनीहरुसँग सामाजिक परिचालक दमन्ती ऐर, न्यायिक समितिमा कार्यरत रामसिंह महरा, लघुउद्यम विकास कार्यक्रममा कार्यरत धर्म मडै, रोजगार शाखाका प्राविधिक लोकेश विष्ट, रोजगार शाखा प्रमुख सुरेन्द्र धामी पनि छन् ।

गत पुसमा बसेको गाउँ कार्यपालिका बैठकबाट अन्तरपालिकास्तरीय भ्रमणमा जाने निर्णय गरेर उनीहरु सरकारी खर्चमा घुम्न निस्किएका थिए । भ्रमण टोलीले पेश्कीको रुपमा ५ लाख रुपैयाँ लगेको लेखा शाखा प्रमुख प्रेमराज भट्टले बताए । भ्रमणका लागि ८ लाख रुपैयाँ छुट्याइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कमलापती भट्टका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यसहितको १६ जनाको कार्यपालिकाको टोली र पाँच जनासम्म कर्मचारी भ्रमणमा जाने निर्णय भएको थियो । तर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भने भ्रमणमा गएका छैनन् ।
टिप्पणीहरू