अनलाइन ठगलाई नछोड्न गृहको उर्दी

अनलाइन ठगलाई नछोड्न गृहको उर्दी

गृह मन्त्रालयले अनलाइन ठगीबाट बच्न सर्वसाधारणलाई अपिल गरेको छ । अपराधिक समूहले सामाजिक सञ्जालको दुरुपयोग गरी चिठ्ठा परेको,पार्सल आएको,कम्पनीको वार्षिकोत्सव अफरलगायत विभिन्न बहानामा ठग्ने गरेको भन्दै गृहले सचेत रहन आग्रह गरेको हो ।

अनलाइनमार्फत कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी बैंकमा रकम जम्मा गर्न लगाउने,सर्वसाधारणको गोप्य विवरण मागी त्यसको दुरुपयोग गर्ने, फिसिङ लिंक क्लिक गर्न लगाई अकाउण्ट विवरण चोरी गर्ने, कुनै वित्तीय सेवा प्रदायकको परिचय दिएर फोन नम्बर माग्ने जस्तो कार्य बढिरहेकोप्रति गृहले चासो देखाएको छ ।

अनलाइन मालसामान बेच्ने, अनलाइन गेमिङ,अनलाइन व्यवसायको नाममा पैसा माग्नेजस्ता गैरकानुनी कार्य बढेको हुनले सतर्क रहन गृहको आग्रह छ । साथै,यस्ता भ्रामक कुराहरुको पछि नलाग्नसमेत आग्रह गरिएको छ । कुनैपनि माध्यमबाट आफ्नो व्यक्तिगत विवरण नदिन गृहले भनेको छ ।

यस्ता गतिविधिहरु भइरहेको थाहा पाएमा जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाइमा सम्पर्क गर्न पनि गृहले सार्वसाधारणलाई अनुरोध गरेको छ । साथै, त्यस्ता गैरकानुनी कार्य गरेको थाहा पाएमा कानुनबमोजिम कारबाही गरिने गृहको चेतावनी छ ।

टिप्पणीहरू