बलात्कारको बात लागेका एमाले नेतालाई भोलि अदालतमा उभ्याइने
बलात्कार आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई भोलि अदालतमा उपस्थित गराइने भएको छ । आज शिवरात्रीको सार्वजनिक बिदा परेकाले भोलि म्याद थपका लागि अदालत लगिने र अनुसन्धान थालिने बाँके प्रहरीले जनाएको छ ।
एक साताअघि जबरजस्ती करणीको आरोपमा एक महिलाले जाहेरी दिएपछि फरार रहँदै आएका सांसद बानियाँलाई प्रहरीले हिजो नेपालगञ्ज विमानस्थल राँझाबाट नियन्त्रणमा लिएको थियो । उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको थियो । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।
उनले भने, ‘नेपालगञ्ज विमानस्थलबाट सांसद बानियाँलाई सोमबार साँझ नियन्त्रणमा लिएका हौं । मंगलबार सार्वजनिक बिदा भएकोले बुधबार म्याद थपका लागि अदालत लगिने र अनुसन्धान सुरु गरिनेछ ।’
ऋण लगेको पैसा फिर्ता गर्छु भनेर बोलाएर बानियाँले नेपालगञ्जको होटलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो ।
बानियाँ गिरफ्तारमा परेसँगै उनको सांसद पद पनि निलम्बनमा पर्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार संसद्को अर्को बैठकमा उनको निलम्बनको जानकारी गराइनेछ ।
टिप्पणीहरू