पशुपतिमा बिहानै ३ लाख मानिस पुगे
महाशिवरात्रिका अवसरमा करिव तीन लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । बिहान ११ बजेसम्ममा सो संख्याका भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका हुन् ।
बिहान ८ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । उक्त समयमा २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहान चिसोका कारण कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवम् पूजा आरधनामा सहज भएको हो ।
८ बजेपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढेको हो । पशुपतिनाथको नियमित रुपमा दर्शन गर्ने भक्तजनले बिहान ७ बजेअघि नै दर्शन गरेका थिए । महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गई १० लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
आज पशुपति क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । करिब पाँच हजार नेपाल प्रहरी, तीन हजार ५ सय सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाकासमेत गरी करिब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको छ । लाइन र भक्तजनलाई व्यवस्थित गर्न नेपाल स्काउटसहित करिब पाँच हजार स्वयंसेवक परिचालित छन् ।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क रुपमा पिउने पानी, भोजन, गुर्जो चियासहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धुलो, स्वास्थ्य शिविरलगायत सेवा प्रदान गरिएको छ ।
टिप्पणीहरू