बलात्कारको बात लागेका एमाले सांसदमाथि केरकार सुरु

बलात्कारको बात लागेका एमाले सांसदमाथि केरकार सुरु

जबरजस्ती करणीको आरोपमा समातिएका एमाले सांसद मोहन बानियाँमाथि पाँच दिनको म्याद थपेर अनुसन्धान थालिएको छ । नेपालगञ्ज विमानस्थल राँझाबाट अस्ति नियन्त्रणमा लिइएका बानियाँलाई बाँके प्रहरीले आज अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सांसद बानियाँलाई आज पाँच दिनको म्याद थप गरेको जानकारी दिए ।

जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै बानियाँ बेपत्ता भएका थिए । प्रहरीले उनलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । बाँके प्रहरी हिरासतमा रहेका बानियाँलाई मधुमेहलगायतको समस्या भएकाले अलग्गै राखिएको जनाइएको छ ।

सांसद बानियाँले नेपालगञ्जको होटलमा जबरजस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भई प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले समातेको हो ।

टिप्पणीहरू