ओलीलाई भीम रावलको जवाफ : तपाईं महाहिरो बन्नुस् न त !

ओलीलाई भीम रावलको जवाफ : तपाईं महाहिरो बन्नुस् न त !

नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वाधीनताको पक्षमा बोल्दा नेतृत्वले अनावश्यक लान्छना लगाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अनुशासन तोडेर रावल हिरो हुन खोजेको आरोप लगाउनु भएको थियो । त्यसको जवाफमा रावलले राष्ट्रियताको पक्षमा उभिएर महाहिरो हुन ओलीलाई चुनौती दिनुभएको हो ।

‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ’, रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

उहाँले देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि हुने पनि बताउनुभयो । ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया’, रावलको भनाइ छ ।

एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहेका बेला रावलले भने संसदीय प्रक्रियामा भाग लिँदै आउनु भएको छ । आइतबार अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा अनुमोदन हुने क्रममा पार्टीका अन्य सांसदहरुले वेल घेराउ गरिरहेका बेला रावलले भने एमसीसीको विरुद्धमा धारणा राख्नुभएको थियो ।

यहि विषयलाई लिएर एमालेमा रावललाई अनुशासनको कारवाही हुनुपर्ने आवाज उठिरहेको छ । हिजोको पत्रकार सम्मेलनमा केही सञ्चारकर्मीले रावलप्रतिको एमालेको धारणा सोधेपछि ओलीले रावल अनावश्यक हिरो बन्न खोजेको बताउनुभएको थियो ।

टिप्पणीहरू