उपाध्यक्षहरु एमालेमा अझै उपेक्षित

उपाध्यक्षहरु एमालेमा अझै उपेक्षित

के एमालेका उपाध्यक्षहरू ‘भुइँ पुछ्ने टालो’ हुन् ? होइन भने अध्यक्ष केपी शर्मा ओलीले खै त तिनलाई अझै पनि महत्व दिनुभएको ? सौराहाबाट दशौं राष्ट्रिय महाधिवेशनले ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङसहित सुरेन्द्र पाण्डेलाई उपाध्यक्षमा मनोनयन गरेको थियो ।

तर आज पार्टीमा तीमध्येका केहीको हालत कस्तो छ भन्ने जान्न पछिल्लो एउटा घटनाक्रम नै काफी छ । मर्यादाक्रम, नीति, विधि, पद्धतिलाई पाखा लगाएर व्यक्तिको तजबिजीमा कसैलाई टिप्ने र कसैलाई वरपर पर्न नदिने ओलीको शैलीबाट आजित भएर होला अहिले पनि कतिपय उपाध्यक्षलाई चित्त दुखाउँदै हिँड्नुपर्ने बाध्यता छ ।

अघिल्लो साता एमसीसीजस्तो राष्ट्रिय महत्वको विषयउपर घरि बालकोट त कहिले बालुवाटारमा घनिभूत छलफल चल्यो । अमेरिकी राजदूतदेखि प्रधानमन्त्री शेरबहादुर देउवासमेतसँग ओलीले वार्ता गर्नुभयो । यसरी वार्ता गरिएका खबर कतिपय उपाध्यक्षले टेलिभिजन वा अनलाइनमा हेरेर थाहा पाउनुपर्ने अवस्था बन्यो ।

बिहीबार राति त काठमाडौंमा भएका उपाध्यक्षहरूलाई बाइपास गरेर रातारात भैरहवाबाट महासचिव शंकर पोखरेललाई काठमाडौं झिकाइयो । वरीयता क्रममा उपाध्यक्षभन्दा धेरै तल रहेका उपमहासचिवहरूलाई बालकोट वार्तामा सामेल गराइयो । फोटो खिचाइयो ।

प्रदीप ज्ञवाली, विष्णु रिमालहरूलाई पत्याएर वार्तामा राख्दा धेरै हिसाबले सिनियर युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे (जो दश बुँदे निकट भनेर चिनिन्छन्) लाई ढिम्किन दिइएन भने अन्तिम वार्ताको गोपनीयता खुल्ला भनेर होला त्यसअघिका ३ वटा वार्तामा सामेल ईश्वर पोखरेल, विष्णु पौडेल र सुभाष नेम्वाङलाई समेत बोलाउन आवश्यक ठानिएन ।

यस्तो हालतमा पु¥याइएपछि अहिले अनुशासन आयोग चलाइसकेका अमृत बोहराले साथीसर्कल र आफन्तहरूमाझ दुखेसो पोख्नुभएको बुझिएको छ । उहाँको गुनासो छ ‘पार्टी विधिमा चलेन भनेर त्यत्रो आवाज उठाइयो । नफुटोस् भनेर ओलीलाई साथ दिइयो तैपनि आज पार्टीमा हाम्रो के–नै भ्यालु रह्यो र ?’

एमसीसी भनेको महाकाली सन्धिजस्तो भारत र नेपाल दुईवटा मुलुकसँग मात्र जोडिएको विषय होइन । यो त अमेरिका, चीन, भारतजस्ता सुपरपावर राष्ट्र जोडिएको महत्वपूर्ण मुद्दा हो । यति महत्वको विषयमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष कमरेडहरूलाई किन बाइपास गर्नुभएको होला ?

टिप्पणीहरू