गरिबको चमेली बोल्दिने कोही छैन
कोरोना महामारीका कारण बन्द रहेका सबै क्षेत्र विस्तारै पहिलेको अवस्थामा फर्कने क्रममा छन् । करिब डेढ वर्ष बन्द रहेको ललितपुरस्थित हरिसिद्धी इँटा तथा टायल्स कारखाना पनि सञ्चालनमा आइसकेको छ । चार सय बढी रोपनी रहेको उक्त कारखानाको जग्गामा मंसिरबाट काम शुरु भएको हो । जसमा ५० बढी कामदार कार्यरत छन् ।
चिनियाँ इँटा मात्र बनाइने त्यस कारखानामा इँटा पोल्ने काम रात र दिन दुबै समय हुने गरेको छ । आठ घण्टाको तीन सिफ्टमा दुई–दुई जना गरेर ६ जनाले इँटा पोल्ने गर्छन् । इँटा उठाउन छुट्टै कामदार राखिएका छन् । बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म इँटा बनाउने तथा चाङ लगाउने काममा ३० जना खटिएका छन् । चाङ लगाउने काममा चार जना महिला र अन्य सबै पुरुष संलग्न छन् ।
उमेरको हिसाबले पनि १८ वर्षदेखि ७२ वर्षसम्मका कामदार छन् । विक्रम संबत् २०२१ सालमा स्थापना भएर २०४९ सालमा निजीकरण भएको उक्त कारखानाले इँटा पोल्नेतर्फको काम हेर्ने गरेको छ भने इँटा बनाउने काम चिनियाँ ठेकेदारको हातमा छ । इँटा पोल्नेलले दिनको एक हजार रुपैयाँ पाए पनि काँचो इँटा बनाउनेहरूलाई दैनिक ७ सय रुपैयाँ मात्र ज्याला दिइन्छ ।झरी र बर्खामा इँटा बनाउने काम बन्द हुँदा महिनौं काम रोकिने दुःखेसो छ । चिनियाँ ठेकेदारले ठेक्का लिएको चार वर्ष बिते पनि पहिलेकोभन्दा कम ज्याला दिएको बताइन्छ । दिनको ७ सय रुपैयाँ भने पनि महिना मरेपछि नाइकेले अपुरो पैसा दिने गरेकाले निमुखा कामदार अप्ठेरोमा छन् । उनीहरूले पुसयता पूरा हिसाब पाएका छैनन् । १० वर्षदेखि त्यहाँ काम गरिरहेका ४४ वर्षीय गिलजंग केसीले नयाँ ठेकेदार आएपछि कामदारलाई निकै गाह्रो भएको सुनाए ।
उनका अनुसार पहिले नेपाली ठेकेदारले दैनिक ८ सय रुपैयाँ ज्याला दिन्थे । भन्छन्, ‘पहिले नेपाली ठेकेदार हुँदा खाजादेखि लिएर सबै व्यवस्था थियो । शनिबार काम गरेको २ सय रुपैयाँ बोनस पाइन्थ्यो । तर, अहिले ज्याला झन् घटेको छ । त्यसमा पनि समयमा दिँदैनन् ।’ हरिसिद्धि क्षेत्रमै कोठा भाडामा लिएर बसेका महिला कामदारको पनि त्यस्तै गुनासो छ ।
उनीहरूले दिनमा एक घण्टा खाना समय पाए पनि अरु समय एक मिनेट फुर्सद नहुने अनुभव सुनाएका छन् । दिनभरि घोटिनुपर्ने तर समयमा ज्याला नपाउँदा झन् गाह्रो भएको उनीहरूको दुःखेसो छ । जनआस्थासँगको कुराकानीमा भनेका छन्, ‘दैनिक ज्याला तोके पनि महिना पुगेपछि कहिल्यै एकमुष्ट पाइँदैन । न खाजा दिन्छ, न अरु सुविधा नै ! सुविधा छाडेर समयमा पैसा पाए पनि ठूलो कुरा हुने थियो,’ ।यसरी दुःखका कुरा गर्नेहरूमध्ये अधिकांश सर्लाहीबाट राजधानी आएका सर्वसाधारण हुन् । दिनभर धुलोमा घोटिएर काम गर्ने र मेशिनमा काम गर्दा चोट पटक लागे पनि ठेकेदारले कुनै वास्ता नगर्ने पीडा उनीहरूले सुनाए । यता कम्पनी भने ठेक्का चिनियाँलाई दिएको हुँदा आफूहरूलाई केही थाहा नभएको जवाफ दिएर तर्केको छ ।
हाल त्यहाँ तीन वटा इँटा बनाउने मेशिन छ । तीमध्ये एउटाले मात्र राम्रोसँग काम गर्छ । मेशिन चिनियाँ ठेकेदारले ल्याएकाले त्यो चलाउन जान्ने मान्छे कारखानामा नभएका कारण पनि उनैलाई सबै जिम्मा दिइएको उसको दाबी छ ।
इँटा बनाउने जिम्मा लिएका नाइके रामप्रसाद यादवले भने समयमै एकमुष्ट ज्याला दिने गरेको बताए । उनले हरेक महिनाको ९ गते पैसा दिने गरिएको तर यो महिना भने आफू सर्लाही गएकाले केही ढिलाइ भएको स्वीकारे ।
‘मंसिरबाट काम शुरु भएको हो । हरेक महिना टाइममै पैसा दिने गरिएको छ । यो महिना विवाहको कारण घर जानुप¥यो, त्यसैले ढिला भएको हो । अब शनिबार पनि काममा आउनेलाई एक सय रुपैयाँ थप दिने गरिएको छ,’ यादवले भने । हरिसिद्धि इँटा तथा टायल कारखाना सञ्चालनमा आएदेखि नै त्यहाँ काम गरेका ७२ वर्षीय नरनारायण महर्जलगायत कामदारले इँटा पोल्ने कामदारलाई ज्याला अपुग भएको ठहर गरेका छन् ।
कारखानाले कामदारलाई बिरामी हुँदाको उपचार सुविधा नदिँदा झन् गाह्रो भएको महर्जनको भनाइ छ । सबै कामदारको एउटै भनाइ छ, ‘कम्तीमा खाजाको व्यवस्था र बिरामी हुँदा उपचारको सुविधा दिने हो भने ठूलो राहत हुनेछ !’
टिप्पणीहरू