माओवादी बैठकको समय र ठाउँ सर्यो
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक दिउँसो २ बजेलाई सारिएको छ । बिहान ११ बजे बोलाइएको बैठक आन्तरिक कारण देखाउँदै दिउँसो २ बजेसम्मका लागि सारिएको हो ।
अस्तिदेखि शुरु भएको बैठक आजसम्मका लागि स्थगित थियो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तले जानकारी दिए । बैठकको कार्यसूचीमा केन्द्रीय कमिटीलाई पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो, स्थायी कमिटी गठनलगायत छन् ।
ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ । शुक्रबार राष्ट्रिय सभागृहमा शुरु भएको बैठक आज बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने बताइएको छ ।
माओवादीका २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा गत पुसमा सम्पन्न आठौँ महाधिवेशनले २ सय ४७ केन्द्रीय सदस्य चयन गरेको थियो । बाँकी मनोनित हुने व्यवस्था छ । त्यस्तै, महाधिवेशनपछि बसेको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी भने निर्वाचित गरेको छैन ।
टिप्पणीहरू