खानेतेलको भाउ मनलाग्दी, युक्रेनको नाममा आयातित तेलमा पनि बढाइयो

खानेतेलको भाउ मनलाग्दी, युक्रेनको नाममा आयातित तेलमा पनि बढाइयो

भान्सामा नभई नहुने खाद्यवस्तुमा पर्छ खानेतेल । तर, विगत एक वर्षदेखि तेलको मूल्य बढेको बढ्यै छ । कहिले लकडाउन र कहिले कोरोना महामारीको कारण उपभोक्ताको ढाड सेक्नेगरी खानेतेलको मूल्य बढाइएको छ ।

पछिल्लो केही महिना सामान्य घटेको तेलको मूल्य फेरि अचाक्ली बढेको छ । रुस र युक्रेनबीचको युद्धको असर बताउदै अहिले बजारमा खाने तेलको मूल्य बढाइएको हो । तेलमा कृत्रिम अभावसमेत देखाउन थालिएको बताइएको छ ।

युक्रेनबाट कच्चा पदार्थ तोरी आपूर्तिमा अवरोध भएपछि यसको असर नेपालमा देखिएको तेल उद्योगीहरुको भनाइ छ । स्थानीय व्यापारीले भने खाने तेल उत्पादकहरुले तेल नदिएको कारण मूल्य बढेको आरोप लगाइरहेका छन् ।

बजारमा अभाव भएपछि व्यापारीले मनलाग्दी भाउमा तेल बेच्ने गरेको पाइएको छ । नियमनकारी निकायहरुले अनुगमनमा चासो नदेखाउदा यसको मारमा भने उपभोक्ता परेका छन् ।

यता, खुद्रा व्यापारीहरुले भने एकपटक ल्याएको मौज्दात सिद्धिन नपाउँदै तेलको मूल्य बढ्ने गरेको बताए । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार दैनिक प्रयोग हुने खाने तेलमा प्रतिलिटर ५० रुपैयाँसम्म बढेको छ ।

जिल्ला प्रशासन कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्यस्ता व्यापारीलाई कारबाही गर्न नसक्दा बजारमा मूल्य दैनिक बढेको महासचिव तुलाधरको भनाइ छ । नेपालले धेरैजसो तोरी युक्रेनबाट आयात गर्छ छ । त्यसपछि रुस र अर्जेण्टिनाबाट पनि तोरी आयात गरेको देखिन्छ ।

टिप्पणीहरू