विदेशमा बस्ने नेपालीहरुको नेतृत्व छनौट थालियो
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार आजदेखि भोलि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने संघको निर्वाचन समितिका प्रमुख भीमसेन बन्जाराले बताए ।
यस्तै उम्मेदवार हुन चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने बन्जाराले जनाएका छन् । संघको अध्यक्षसहित ५१ पदाधिकारीका लागि मनोनयन हुन लागेको निर्वाचन समितिले बताएको छ ।
संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा कुल आचार्य, डा. बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार तोकेको छ । महिलासहित उपाध्यक्षका लागि सात लाख रुपैयाँ, महासचिवका लागि छ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि पाँच लाख रुपैयाँ तोकिएको छ ।
सहकोषाध्यक्षका लागि चार लाख रुपैयाँ, महिला, युवा र क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, महिला, युवा र क्षेत्रीय उपसंयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र र आईसिसी सदस्यहरूका लागि एक लाख रुपैयाँ तोकिएको छ ।
गत अक्टोबरका लागि तय गरिएको निर्वाचन प्रतिनिधि विवादका कारण रोकिएको थियो । निर्वाचन समितिले २१ र २२ मार्चका लागि अनलाइन निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले आज बिहान अन्तिम ३५ सय ९० जनाको मतदाता नामावलीसमेत सार्वजनिक गरेको छ ।
टिप्पणीहरू