कमरेडहरुले विधानबाट ‘नैतिकपतन’ किन काटे ?
एमालेमा कसरी विधान, अनुशासन मिचिँदै व्यक्तिका बोली नै बरदान हुन थाले ? ०७० भदौ २ मै पहिचान भएका ती समस्या समाधान भए कि बल्झिए ? प्रस्तुत छ, उतिबेलै हालिएको उजुरीपत्र ।
क. …
नेकपा (एमाले), केन्द्रीय कार्यालय
मदननगर, बल्खु
विषय : ध्यानाकर्षण गराइएको सम्बन्धमा ।
युवा संघ नेपाल आठौं राष्ट्रिय महाधिवेशनपछि विधानसम्मत ढंगले सञ्चालन हुन सकिरहेको छैन । नेतृत्वको गलत कार्यशैली, निरंकुशता र स्वेच्छाचारी प्रवृत्ति, गुटगत मानसिकता, सैद्धान्तिक विचलन, संगठनमा आन्तरिक लोकतन्त्रको समाप्ती, चाकडी र चाप्लुसी प्रवृतिको विकास, अराजक र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई प्रश्रय, विधान तथा कमिटीका निर्णयको प्रकाशमा कार्यक्रम गर्ने कुराको अभावजस्ता गलत प्रवृत्ति र शैलीहरु विकास हुन थालेका छन् । यसले संगठनको आन्तरिक जीवन त प्रभावित हुने नै छ, समग्र पार्टी पंक्तिमा नकारात्मक प्रभाव पर्ने र आम नेपाली समाजमा एमालेको असल स्वरुपमा पनि धब्बा लाग्ने भएकाले यो पार्टीको सरोकारको विषय बनोस् ।
देखिएका समस्याहरु :
क) सांगठनिक, ख) राजनीतिक तथा वैचारिक, ग) कार्यशैलीगत, घ) आर्थिक, ङ) शंकास्पद गतिविधि, च) विराटनगर र धरानको कार्यक्रमका सम्बन्धमा
सांगठनिक
– विधान सम्मेलनबाट पारित विधानलाई तोडमोड गरी प्रकाशन गर्नु र प्रकाशित विधानसमेत उल्लंघन गर्नु
– व्यक्तिको लहड्मा संगठन सञ्चालन हुनु
– संगठनको लोगो प्रयोग गरेर व्यक्तिगत स्वार्थपूर्ति गर्ने प्रवृत्ति बढ्नु
– राजनीतिक मुद्दाभन्दा सस्तो प्रचारका काममा मात्र ध्यान दिइनु
– संगठनभित्र डर, त्रासको वातावरण सृजना हुनु
– नेताको देवत्वकरण र कार्यकर्ताको मण्डलेकरण गर्ने प्रवृति हावी हुनु
– विचारविहीन संगठन बन्ने खतरा बढ्नु
– कमिटी प्रणलीभन्दा व्यक्तिलाई प्राथमिकतामा राख्ने प्रवृति बढ्नु
–कमिटीको वैधानिक व्यवस्थालाई बेवास्ता गर्दै उपलब्धिको नाममा बैठक बस्ने र कमिटी प्रणाली ध्वस्त पार्ने प्रवृत्ति बढ्नु
– संघको आय–व्ययबारे कहिल्यै कमिटीभित्र छलफल नहुनु, आर्थिक अपारदर्शिता बढ्नु
– सस्तो लोकप्रियताका लागि बारम्बार पार्टीका निर्णयहरुसँग बाझिने अभिव्यक्तिहरु दिइनु
– विधानमा भएको व्यवस्थाभन्दा बाहिर गएर सांगठनिक संरचना तयार गर्नु, संगठनलाई व्यक्ति विशेषको बनाउन खोज्नु
– विचार र कार्यक्रमका प्रश्नमा कहिल्यै छलफल नहुनु
– कमिटीहरु कमिटीगत ढंगले सञ्चालन नगर्नु
– कमिटी प्रणालीभन्दा व्यक्ति कार्यकारणी हो भन्दै अहंकारपूर्ण अभिव्यक्ति दिइनु
विधानको तोडमरोड :
– सम्मेलनबाट पारित विधानको धारा ६ को सदस्यता प्राप्ति र खारेजीको व्यवस्थाअन्तर्गत ‘फौजदारी अभियोग, नैतिक पतन, मानसिक असन्तुलन, सार्वजनिक सम्पत्तिको हिनामिना, सार्वजनिक अपराधमा अदालतबाट प्रमाणित भएमा’ जस्ता वाक्यांश हटाइएको
– धारा ७ (३) (१०) को केन्द्रीय विभागीय सदस्यको मापदण्डअन्तर्गत ‘पार्टी संगठित सदस्यता प्राप्त गरेको वा संघको जिल्ला वा निर्वाचन क्षेत्रस्तरीय कमिटीमा रहिसकेको’ भन्ने मापदण्ड हटाइएको
– ९ जनाको छुट्टै सचिवालय निर्माण गरिएको, सम्मेलनबाट पारित विधानमा सचिवालयभित्र पनि अर्को सचिवालय रहने कुनै व्यवस्था नरहेको
– केन्द्रीय कमिटीमा मनोनयन गर्ने व्यवस्था नरहेको तर विराटनगरको बैठकबाट २० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गरिएको
– कमिटीको संरचना विधानमा तोकिएकाअनुसार मात्रै निर्माण हुने व्यवस्था रहे पनि महल कमिटी, बसपार्क कमिटी, भन्सार कमिटीलगायत कमिटी निर्माण गरेको
– सम्मेलनबाट पारित विधानको धारा २२ (२) मा रहेको ‘उपाध्यक्षको काम, कर्तव्य र अधिकार केन्द्रीय कमिटी÷स्थायी कमिटीले तोकेअनुसार हुने’ व्यवस्था संशोधन गरी ‘अध्यक्षले तोकेअनुसार’ बनाइएको
सांगठानिक अराजकता :
– मनोमानी ढंगले कार्यक्रम घोषणा गर्ने गरेको
– एकै प्रकृतिका कमिटीहरुमा कसैलाई सर्कुलर जारी गर्न दिने र कसैलाई बैठक बस्ने क्षेत्राधिकार छैन भनी रोक्ने गरेको
– बारम्बार पार्टी निर्देशन उल्लंघन गरेको
– नेताहरुलाई बयलगाडामा बाँधेर बल्खुमा ल्याई थुन्नुपर्छ भन्नेजस्ता गैरराजनीतिक अभिव्यक्ति दिने गरेको
– म भनेकै युवा संघ, युवासंघ भनेकै म, आउँदो महाधिवेशनमा संगठनको अध्यक्ष र महासचिव को हुने म अहिले नै घोषणा गर्छु पार्टी नेतामात्र होइन, बाराक ओबामा आए पनि सुन्दिन, पार्टीका केही नेताहरु बौलाएका छन्, संगठनमा अध्ययन गर्ने विचार र बुद्धि भएका पण्डितहरुको काम छैन, माक्र्सवादका राता किताब पढेर अबको दुनियाँमा समाजवाद आउँदैन भन्ने जस्ता शब्द प्रयोग गरेको
– आफ्नो विचारसँग असहमत हुनेलाई भौतिक आक्रमणको त्रास देखाउने र बहुमत सिद्ध गरी कारवाही गर्छु भन्ने डर देखाउने प्रवृत्तिको विकास भएको
– आन्दोलनमा युवाका मुद्दा उठाउनेतर्फ नेतृत्वले कहिल्यै ध्यान दिएन, बरु आर्थिकसँग सम्बन्धित कार्यक्रम, कमिटी निर्माणमा मात्र ध्यान दिने, जस्तै : ठमेल कमिटी, महल कमिटी बसपार्क कमिटी, आदि
आर्थिक सम्बन्धमा :
– सचिवालय सदस्य पर्शुराम बस्नेतलाई छुटाउन संगठनको लेटरप्याडमा सहयोग उठाएको र उक्त हिसाबकिताब संगठनमा दाखिला नगरेको
– पार्टीले पूर्णकालीन कार्यकर्तालाई उपलब्ध गराउँदै आएको रकम बुझेर दुरुपयोग गरेको
– लहान सम्मेलनमा तिर्न बाँकी भैरव राईको साढे २ लाखभन्दा बढी रकम अझै नदिएको
– चार वर्षसम्म लेखापरीक्षण नगराएको
हामीले आर्थिक पारदर्शिताका लागि उठाएका शीर्षक :
– राष्ट्रिय कार्यकर्ता भेला २०६८ पुस १ र २ झापाको आयव्यय
– विधान सम्मेलन २०६९ मंसिर १५ १६ १७ काठमाडौंको आयव्यय
– आठौं राष्ट्रिय महाधिवेशन २०६९ फागुन ११, १२ र १३ बुटवलको आयव्यय
– नर्वेजियन राजदूतावासबाट प्राप्त रकमको आयव्यय
– युवा विद्यार्थी महोत्सवमा दक्षिण अफ्रिका जाँदाको आयव्यय ।
– एउटा जनवर्गीय संगठनले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पार्टीको भावी अध्यक्ष, प्रधानमन्त्री र कमाण्डर तोकी दुनियाँलाई हँसाउने काम गरेको ।
– संघको बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट धेरै जिल्ला अध्यक्षहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । आफ्नो पक्षमा भएका केन्द्रिय सदस्यलाई राजीनामा दिन नपर्ने तर फरक पर्नेबित्तिकै राजीनामा गर्न लगाइएको, केन्द्रीय कमिटीको निर्णयअनुसार सम्पन्न हुन गइरहेको युवा संघ नेपाल भेरी अञ्चल अधिवेशन रोक्न लबिङ गरेको ।
– अनावश्यक रुपमा पदहरु बाँड्दै हिँडेको
– अध्यक्ष महेश बस्नेत संगठनलाई कुनै जानकारी नै नगराई भारत गएको र २१ दिन उता बस्दा नेपाल डेस्क हेर्ने साउथ ब्लकका सहसचिव अखिलेश मिश्रालाई भेटेको ।
– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तरुण दलका पूर्वअध्यक्ष, अध्यक्ष रहेको भारतद्वारा संरक्षित एक संस्थामा राजिव पहारी उपाध्यक्ष रहेको
– युवा संघ नेपालभित्र देखिएको अराजनीतिक गतिविधि, सांगठानिक अराजकता, आर्थिक भ्रष्टीकरण, पार्टी नेतृत्वप्रति तुच्छ शब्दको प्रयोग र शंकास्पद गतिविधिहरुले संगठनको साख, गरिमा घट्ने हुँदा र यसले पार्टी नेकपा एमालेको छविलाई समेत गम्भीर प्रभाव पार्ने, संगठन गैरराजनीतिक व्यक्तिहरुको भीडमा रुपान्तरित हुने भएकोले अविलम्ब उचित कदम चाल्न हार्दिक अनुरोध गर्दछौं ।
– उपाध्यक्षहरु : झपटबहादुर रावल, दिलकुमारी पन्त, सूर्य ढकाल, राजु गुरुङ, सचिवहरु : नरेशकुमार शाही, मञ्जु यादव, सरोजदिलु विश्वकर्मा, हस्तबहादुर शाही, क्रान्ति बुर्लाकोटी, अशोक चन्द
मिति : २०७०/०५/०२
टिप्पणीहरू