माओवादीले विकल्प खुला राखेर चुनावी तालमेलका लागि कार्यदल बनाउने

माओवादीले विकल्प खुला राखेर चुनावी तालमेलका लागि कार्यदल बनाउने

सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर अन्य दलहरुसँग सिट तालमेलबारे समझदारी जुटाउने कार्यदल बनाउने भएको छ ।

आज काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले गठबन्धनसहित निर्वाचन जाने विषयमा टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको हो ।

माओवादीले चुनाव तयारी समिति पनि बनाएको छ । चुनावमा एकल वा गठबन्धन दुवै सम्भावना खुला राखेर तयारीमा जुट्ने निर्णय भएको केन्द्रीय सदस्य वर्षमान पुन अनन्तले जानकारी दिनुभयो ।

‘आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने र गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको छ’, नेता पुनले भन्नुभयो, ‘सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने अनि त्यसरी नै तालमेल हुने छ ।’

उहाँका अनुसार हरेक पालिकामा लोकप्रिय र योग्य उम्मेदवारको सूची बनाएर पठाउने, त्यही सिफारिसअनुसार उम्मेदवार बनाउने पार्टीको तयारी छ ।

माओवादीले आगामी चुनावमा तालमेल गर्ने बताइरहँदा सत्ता गठबन्धनको अर्को दल नेपाली काँग्रेसमा भने गठबन्धनसहित चुनावमा जाने विषयमा शीर्ष नेताहरुनै विभाजित छन् ।

टिप्पणीहरू