ज्यान गुमाउनेको शव आफन्तलाई सुम्पने तयारी

ज्यान गुमाउनेको शव आफन्तलाई सुम्पने तयारी

आजबिहानै संखुवासभाको मादी नगरपालिकामा भएको बस दुर्घटनामा परेर १४ जनाको ज्याम गएको छ । खाँदबारीबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस संखुवासभा मादी ६ को सात घुम्तीबाट करिब तीन सय मीटर तल खसेको थियो । यसबाट १४ जनाको मृत्यु भइसकेको छ भने पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको छ ।

बीपी स्वास्थ्य प्रतिष्ठानमा उपचाररत डम्बरबहादुर कार्की,करिश्मा तामाङ, तुलसा कटुवाल,सुवास तामाङ रहेका छन् । त्यसैगरी, एकजना युवतीको स्थिति भने निकै जटिल रहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

बस चालक र सहचालक दुवैको ज्यान गएको छ । मृत्यु भएका अधिकांश मादी गाँउपालिकाका स्थानीयवासी हुन् । एक परिवारका दुई जनासम्मको ज्यान गएको प्रहरीको भनाइ छ । बलबहादुर कार्की र उनी छोरी सविता कार्की सदाका लागि बिदा भएका छन् ।

दुर्घटनामा पर्दा एउटी आमाको कोख रित्तो बनेको छ । आफू बचे पनि उनले छोरी बचाउन पाइनन् । बस चढेको पाँच मीनेट पनि नबित्दै सीता बिकले ज्यान गुमाइन् । एकै पालिकाका यत्रो जनाले ज्यान गुमाउँदा त्यहाँका सबै स्थानीय शोकमा डुबेका छन् ।

मादी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धननारायण तामाङले गाँउभरि नै रुवावासी चलेको बताए । यत्रो स्थानीयले ज्यान गुमाउँदा गाँउ नै रित्तो भए झैं महसुस भइरहेको छ,वडाध्यक्ष तामाङले भने ।

यता,जिल्ला प्रशासन कार्यालय, संखुवासभाका प्रजिअ नुरहरि खतिवडाले सडक बिग्रिएका कारण दुर्घटना भएको बताउनुभएको छ । भीरैभीरको बाटोमा घुम्ती सडक छ, कतिखेर दुर्घटना हुने हो,ठेगान हुँदैन ।

चालकले धेरै स्पिडमा गाडी चलाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घुम्तीमा धेरै स्पीडमा गाडी चलाएको हुनाले दुर्घटना भएको आशंका गरिएको छ-जिल्ला प्रहरी कार्यालय,संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

हाल सबैको शव पोस्टमार्टमको लागि लगिएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई बुझाउने तयारी छ ।

टिप्पणीहरू