एमाले अध्यक्षले किन ६ वर्षअघिको रंगेली घटना सम्झन चाहनुभएन ?
नेकपा एमाले मोरङले पुरानो सदरमुकाम रंगेलीमा हिजो तराई मधेश केन्द्रित सभा आयोजना गर्यो । स्थानीय तहको चुनाव प्रचारप्रसार अभियानलाई लक्षित गरेर ६ वर्षअघि शक्ति गुमाएको स्थानमा एमालेले अध्यक्ष ओलीलाई बोलाएर सभा गरेको हो । धेरैले एमालेकै जोडबलका कारण तीन जनाको ज्यान जानेगरी भएको घटना स्मरण गर्दै ओलीले माफी माग्ने अपेक्षा गरेका थिए ।
तर उहाँले ६ वर्षअघि रंगेलीमा आफ्नै पार्टीको हठले गर्दा तीन जनाको ज्यान गएको दर्दनाक घटनाको स्मरण नगर्नुभएको स्थानीयको गुनासो छ । रंगेली नगरपालिकास्थित पब्लिक माविको मैदानमा आयोजित जनसभामा प्रमुख अतिथि रहनुभएका अध्यक्ष ओलीले आफ्नै पार्टीको अदूरदर्शिताको कारण तीन जनाको ज्यान गएको घटनाको कुनै चर्चा गर्न आवश्यक नठान्नुभएको बताइन्छ । बरु उहाँले अन्य दलका केही कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि काँग्रेसलाई गाली गर्दै छोटो भाषण गरेर सभा बिर्सजन गर्न लगाउनुभएको थियो ।
२०७२ माघ ७ गते तत्कालीन एमाले महासचिव ईश्वर पोखरेल,सचिव शंकर पोखरेल,युवा संघका अध्यक्ष महेश बस्नेतदेखि खेलकुद मन्त्री सत्यनारायण मण्डललाई बोलाएर प्रतिकूल अवस्थामा पनि जबरजस्ती प्रहरी कार्यालय अगाडि सभा आयोजना गरेर रंगेलीमा शक्ति प्रदर्शन गरिएको थियो । उक्त घटनाका कारण मधेशी मोर्चाका युवाहरु आक्रोशित हुँदा हिँसात्मक झडप भएको थियो । झडपमा रंगेली ३ की ५८ वर्षीया द्रौपदी चौधरी,डायनिया ९ का २५ वर्षे शिवु माझी र बरडंगा २ का महादेव ऋषिदेवको मृत्यु भएको थियो । उक्त घटनामा एक दर्जन बढी घाइते भएका थिए ।
उक्त्त घटनाको कारण एमालेलाई सो क्षेत्रमा राजनीतिक रुपमा ठूलो घाटा पुगेको थियो । सोही कारण एमालेले रंगेलीमा ६ वर्षपछि मात्र हिजो शक्ति प्रदर्शन गर्न सफल भएको बताइन्छ । ६ वर्षअघिको हिंसात्मक घटनालाई ध्यानमा राखेर हिजो मोरङ प्रशासनले रंगेलीमा बाक्लो संख्यामा प्रहरी खटाएर सुरक्षा व्यवस्था चुस्त बनाएको थियो ।
प्रमुख वक्ता ओलीले काँग्रेसलाई समर्थन गर्न निर्वाचन आयोगले स्थानीय पालिकाहरुको मतपत्रको रंङ हरियो बनाउन लागेको आरोप लगाउनुभएको हो । उहाँले मतपत्र हरियो नभएर रातो बनाउनुपर्नेमा जोड दिनुभएको थियो । एमाले अध्यक्षले काँग्रेसलाई सुकिसकेको बूढो रुख भन्न भ्याउनुभएको हो ।
हिजोको कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया र उपप्रमुख केशवकुमारी खराललाई टीका,माला र खादा लगाएर पार्टी प्रवेश गराइएको थियो ।
टिप्पणीहरू