रुकुमका युवाले कायम गरे विश्व रेकर्ड

रुकुमका युवाले कायम गरे विश्व रेकर्ड

रुकुम पश्चिमका एक युवाले तीन पटक विश्व रेकर्ड कायम गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका ११ का २१ वर्षीय मानसिङ ओली (प्रभास) ले तीन पटक विश्व रेकर्ड कायम गरेका हुन् ।

मानसिङले १२ सय ग्रामको गिनिज बुक अफ वर्ल्ड रेकर्ड पुस्तक लगातार ३ घण्टा ४० मीनेट ३ सेकेण्डसम्म औंलामा घुमाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र प्राप्त गरेका छन् ।

विश्व कीर्तिमानी मानसिङले गत मार्च महिनामा ब्यालेन्स ग्रुप अप कम्पनी र अर्डर नाउले आयोजना गरेको एक कार्यक्रममा लगातार उक्त अवधिसम्म गिनिज बुक अफ वर्ल्ड रेकर्ड पुस्तक औंलामा घुमाएपछि गत बुधबार विजेताको प्रमाणपत्र पाएका हुन् । उनलाई अर्डर नाउका प्रमुख विजय प्रसाईले विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र उपलब्ध गराएका हुन् ।

प्रभासले योबाहेक अन्य दुई वटा रेकर्डसमेत यसअघि नै कायम गराएका थिए । गत असोज ४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सबैभन्दा लामो समय औंलामा प्लेट घुमाएर विश्व रेकर्ड कायम गरे । ४ घण्टा ४ मीनेट ४४ सेकेण्डमा उक्त रेकर्ड कायम भएको हो ।

त्यसैगरी उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डको पुस्तक सबैभन्दा बढी पटक फन्को लगाएर पनि रेकर्ड कायम गरेका छन् । उक्त पुस्तक एक मीनेटमा सबैभन्दा बढी ३ सय १५ पटक घुमाएर विश्व रेकर्ड बनाइएको हो ।

उक्त दुई वटामा रेकर्ड कायम गराएको र प्रमाणपत्र आउने प्रक्रियामा रहेको पनि प्रभासले जानकारी दिए ।

टिप्पणीहरू