परिक्रमासँग पराजित पराक्रम
राजनीति नफाप्ने निश्कर्षमा पुगेपछि केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाल रोजीरोटीका लागि व्यापार गर्ने निधोमा पुगेछन् । साथीभाइको सल्लाह सुझावअनुसार पेट्रोल पम्प खोले । थुप्रै समय बितिसक्दा एउटा गाडी पनि तेल भर्न नआएपछि चकित भए । यसो हुनुको रहस्य खुल्यो, पम्प त भवनको दुई तलामाथि बनाइएको रहेछ ।
पम्प नचलेको झोंकमा त्यही ठाउँमा रेष्टुरेन्ट खोल्ने टुंगो गरे । दुर्भाग्य त्यहाँ एउटा ग्राहकले पनि पाइला राखेनन् । कुरा के रहेछ भने रेष्टुरेन्ट त खोलियो तर पेट्रोल पम्पको साइनबोर्ड नै हटाउन बिर्सिएछ । ज्योतिषको सल्लाहअनुसार व्यापारको चरित्र परिवर्तन गरी ट्याक्सी व्यवसायमा हात हाले । ट्याक्सी खरिद भयो । यात्रु खोज्न दिनभरि भौंतारिए । एउटा यात्रु पनि उनीहरूको ट्याक्सीतर्फ लम्कँदैनथ्यो । समस्या के परेछ भने यात्रु खोज्न उनीहरू चारैजना त्यही ट्याक्सी चढेर जान्थे । भीमकाय शरीर भएका चार जनालाई ट्याक्सीमा देखेपछि कसैले ट्याक्सी खाली छ भनेर सोध्ने आँट नै गर्दैनथे ।
फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै आपूm निरंकुशशास्त्रको पिएचडी हासिल गरेको तथ्य नेतृत्वले हेक्का नराख्नु नै हो । ०७ सालको क्रान्तिपछि शक्तिविहीन राजालाई बिजुली गारत नामको सैनिक टुकडी ‘टिप्स’ नदिएको भए लोकतन्त्रवादी नेताहरूको त्यो हविगत हुने नै थिएन । राजा भर्सेज नेताको युद्ध शुभारम्भ यो सानो भूलबाट भयो । राणा निस्तेजपछि फेरि प्रधानमन्त्री बनेका मोहनसमशेरले बिपीलाई सम्झाउँदै भनेका थिए, ‘बिपी बाबु, तपाईंहरू पढे÷लेखेका, देश÷विदेश खाएका भए पनि देश चलाउने विषयमा म अनुभवी छु । मैले भनेको मानेर बिजुली गारत दरबारबाट झिकौं । कालान्तरमा तपाईंहरूलाई यही गल्तीले पिरोल्नेछ ।’ आखिर भयो त्यस्तै ।
०७ सालदेखि ०१४ साल अर्थात् सुन्दर लक्की सेभेन हुनुपर्ने नेपाली राजनीतिको कालखण्ड अनलक्की शृंखलामा बित्यो । त्रिशंकु खेलकुदले राजनीतिलाई दाउपेचमा अनुवाद ग¥यो । त्यो बेला पनि राजनीतिमा कुखुरा चोरहरूको हालीमुहाली चल्यो । दाजुभाइ फुटाएर कांग्रेस ध्वस्त पार्न जनताका नेता मातृकाप्रसाद कोइरालालाई मानार्थ सेनाको जर्नेल बनाएर सैनिक पोशाकमै सार्वजनिक गरियो । २०११ सालमा युवा राजा महेन्द्रको उदयसँगै समवयी राजा–नेताबीच शक्ति संघर्ष चल्यो । एकथरि नेता र अर्काथरि राजा उचाल्ने प्रतिस्पर्धा गर्न थाले । अनपेक्षित पात्रहरू केन्द्रीय राजनीतिमा हाबी भए । बिपीका विश्वासपात्र चोर्ने रणनीतिमा राजा महेन्द्र पर्दापछाडिबाट खेल्न थाले । अनेकन दबाबबीच ०१५ सालमा चुनाव भयो । बिपी नेतृत्वको सरकारले दुईतिहाइ मत हासिल गरेर शक्तिशाली सरकार बनायो । बिपीमा जनमतको अहं, राजामा वंशाणुगत राजा भएको दम्भ । अन्ततः कहिले राजा बोकेर नेता र नेता बोकेर राजा हान्ने रणनीतिमा रहेका जवाहरलाल नेहरूले राजालाई काँध थापेर दुई तिहाइरुपी शिशाको घरमा घन हाने ।
लोकतन्त्रको घर भत्कियो । जनमतले बनेकै भरमा लोकतन्त्र बलियो हुन्छ भन्ने मिथ्याको योभन्दा निर्मम दृश्य अरू के हुन्छ र ? त्यही जगमा राजाले पञ्चायत नामको घर बनाए । त्यो घर पनि राजाको डिजाइनअनुसार बनेन । राजाको भिजनले आफ्नै व्यवस्थामा न्याय पाएन । बरु राजालाई अकबर बादशाहजस्तो मूर्ख बनाएर दाइँ गर्ने पात्रहरूको उदय भयो । त्यो शृंखला आजका मितिसम्म गणतान्त्रिक व्यवस्थामा समेत सक्कलबमोजिम नक्कल बनेर उपस्थित छ । धेरै कालखण्डपछि प्राप्त गणतन्त्र ‘भुइँमा न भाँडामा–रित्ता डाँडामा’ प्रमाणित हुनु पछाडिका प्रमुख कारण पनि यिनै हुन् । नेताहरूले राजाको विरोध गरे तर राजामहाराजको विलासिता मस्तिष्कमा बोके । पदमा नपुगेसम्म नारीले आपूmलाई नारीको कोटीमा राखे । पद पाएपछि जुँगामुठे पुरुषको दम्भ पाले । गणतन्त्रको रक्षक मानिएका नेताहरूको गतिविधिप्रति जसले खबरदार ग¥यो, उसलाई महाशत्रु घोषणा गर्ने परम्परा वीजारोपण गरियो । गणतन्त्रको सर्वोच्च शिखर मानिएकी राष्ट्रपतिलाई अप्रिय बनाउन गणतन्त्रकै शिल्पी टुप्पी कसेर लागिपरेका छन् । यस्तो स्वतन्त्र र सचेत समाजको आंकलन नगरी राष्ट्रपतिलाई जताततै खेताला बोलाउने जिम्मा कसैले लिन पर्दैन ।
ठूला मानिसलाई राजश्व तिरेर सुविधा किन दिइएको हुन्छ भने उनीहरूले फेरेको श्वास पनि देश हितमा हुन्छ भन्ने मान्यता जीवित राख्न हो । जब देशको सर्वोच्च भनिएकै निकायलाई हेलिकोप्टरबाट माइती, मावली भेटघाट, लिफ्ट उद्घाटन, स्कुलको वार्षिकोत्समा लाखौं खर्च गरेर पु¥याइन्छ भने त्यो व्यक्ति र व्यवस्था दुवैको दुरूपयोग हो । कानुन मिचेर भावनाको निर्णय गर्दा त्यो बेथितिको सञ्चयकोष भएर रहिरहन्छ । त्यसले अन्तत ः डस्ने आपैंmलाई हो । हिजो यस्तै खेलाँची गर्दा राजा दरबारबाट खेदिए । बिपी, गणेशमानसिंह, कृष्णप्रसाद, गिरिजाप्रसाद कहाँबाट कहाँ पु¥याइए ? जिन्दगी नै कांग्रेसको बलिबेदीमा होमेका गणेशमानसिंह, कृष्णप्रसादजस्ता महापुरुषको उत्तराद्र्ध सकसै सकसमा बित्यो । सत्तामा हुँदा लुटैलुट र सत्ता बाहिर गुटैगुटको प्रलापमा यी महानआत्माहरू अटाउन सकेनन् । व्यवस्था फेरियो, पार्टी फेरियो, व्यक्ति फेरिए तर राजनीतिको कोर्स उही छ । किताबको एउटा च्याप्टर फेर्ने साहस कसैले गरेन । बरु व्यक्तिगत स्वार्थको दाउलाई व्यवस्थासँग जोडियो । मुलुकका कार्यकारी र संवैधानिक निकाय पुरै बद्नामीको चक्रव्यूहमा फसेका छन् । गफको विकल्प काम हुनुपर्नेमा गफको ठाउँ महागफले लिइरहेको छ । हुँदा हुँदा मानिसको सुरक्षाका लागि कोरिएको जेब्राक्रसमा अधिकांश पैदलयात्रुको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । राष्ट्रपतिदेखि वडा सदस्यसम्मको दैनिकी भाषण र घुमफिरमा बित्ने गरेको छ । देशका विमानस्थल भीआईपी नै भीआईपीको लर्कोले भरिएको छ । कोही कसैलाई फुर्सद छैन । बेफुर्सदी कामको नभएर गफको हो ।
प्रचण्ड मुलुकको दुईपटक कार्यकारी सरकार प्रमुख भए । अहिले पनि दुई तिहाई सरकारको जिम्मावाल छन् । यद्यपि क्रान्तिको धमास दिन छोड्दैनन् । पँुजीवादी, दलाल, प्रतिक्रियावादीजस्ता अमूर्त शब्दको बेमिसाल आक्रमण तीब्र छ । केपी ओलीसँग थोरै हिसाब नमिल्ने बित्तिकै मारकाटका लागि अर्को माओवादी शक्ति जन्मिने उद्घोष गर्छन् । प्रचण्डकै चेला नेत्रविक्रम चन्द विप्लवले त मान्छे मार्ने खेती नै शुरु गरिसकेका छन् । प्रचण्डले माओवादी विद्रोह जन्मिन्छ भन्नु र विप्लवले निसाना मिलाउनुको तादात्म्य के हो त्यो त तिनै दुई पात्र या भगवान जानुन तर यो कहिल्यै नसकिने कम्युनिष्ट क्रान्ति के हो ? दमले छियाछिया पारेको ज्यान लिएर हिँडिरहेका मोहन वैद्यलाई पनि क्रान्तिको नशाले छोडेको छैन । राज्यसत्तामा टेण्डर नपरेका हरेक कम्युनिष्टका नशामा क्रान्ति अधुरो छ भने सत्ता नपाएको कांग्रेस लोकतन्त्र धराप परेको चिन्ताले मरिच भएको छ । क्रान्ति, लोकतन्त्र या गरीब जनताको हवाला दिएपनि यी सवै आवरण लुट्न नपाएको आक्रोशसिवाय केही होइन । मुलुकमा भएका ‘टपटेन अपराध’मा टपटेन नेता या तिनको परिवारका सदस्यको नाम जोडिएको खबर सार्वजनिक हुन्छ । प्रधानमन्त्री केपी ओलीका नजन्माएका सन्तान, उपराष्ट्रपति, पूर्वसभामुख, गृहमन्त्रीका छोराछोरी गुण्डागर्दी, ठेक्कापट्टा, भ्रष्टाचारीको मतियार भई तुच्छ प्रकरणमा जोडिनुजस्तो अनैतिक, अमर्यादित अरू के हुन सक्छ ?
कोही कलमको ह्रस्व दीर्घ, तर्कुले, कान्दानी, बाइमात्रा, किन्तु , परन्तु मिलाएर मार्ने त, कोही खँुडा, खुकुरी उध्याएर मार्ने । आखिर मार्र्नेमा सबैंको सहमति छ । विना पूर्वाग्रह भन्ने हो भने नेपालका कम्युनिष्टहरू चरम विलासी बन्दै गएका छन् । राजनीतिक समानता राजनीतिक प्राण भएपनि व्यक्तिगत सम्पत्ति आर्जनमा उनीहरूको ध्याउन्न दिन दुईगुना, रात चारगुनाको दरले बढ्दो छ । पाखण्ड छोप्ने जामा नलगाउने हो भने अधिकांश सर्वहारा वर्गका नेता तथा कार्यकर्ता राजधानीको बासिन्दा भएका छन् । काठमाडौंको अधिकार जनताको ढोका ढोकासम्म पुगोस् भन्ने कसैको इमान्दार प्रयास छैन । संघीयता त महत्वाकांक्षी कार्यकर्तालाई जागिर लगाउन खोलिएको भर्ती हो । जसले हजारौं कार्यकर्ताको मुखबुजो लगाएको छ । स्वयं प्रधानमन्त्री संघीयता मोटाएको देख्न चाहँदैनन् ।
डाइनोसर हुन लागेको माओवादी एमालेको वैतरणी तरेर आएपछि एकाएक हात्ती बन्यो । भीमकाय कम्युनिष्ट पार्टीको ‘पाइलट’ हुन पाएको प्रचण्डलाई उँडी उँडी भएको छ । उनी पार्टीको एकल र सरकारको मुखिया बन्ने स्टेशन कुरेर बसेका छन् । लोकसेवा लड्न नपर्ने, एक समय गरेको त्याग सधैं एटीएम कार्डको रूपमा प्रयोग गरेर फाइदा लिइराख्न मिल्ने डेट एक्स्पायर नहुने गज्जव उद्यम बनेको छ । आफ्नो परिवारका तीनपुस्ते, नोकरचाकर, चण्डमुण्ड, ढोके, हुक्के सबैलाई व्यवस्थापन गर्न मिल्ने यस्तो पोषणयुक्त संघीय गणतन्त्र विश्वमै छैन होला । यदि यो अभिष्टमा कोही भिलेन भएको भान भयो भने गणतन्त्रमाथिको प्रहार भनेर काँचो खरमा आगो लगाउन मिल्ने सुविधा पनि यस भूमिको गणतन्त्रले दिएको छ । जसरी टोलटोलमा पुगेर जातका नाममा राज्य बाँड्ने आश्वासन बाँड्दा त्यसको प्रहारले अहिलेसम्म नेताहरूलाई ऐंठन हुने गरेको छ, संघीयताको लाभाले धेरैको राजनीतिक भविष्य उत्तराद्र्धमा पुगेको छ । अरूको डिजाइनमा खेल्ने पात्र हुँदाको परिणाम नेताहरूको मनोविज्ञानभित्र राम्रै पर्न थालेको छ । साँच्चै भन्ने हो भने अबको राजनीति ‘न मरी जानु, न गरी खानु’को अवस्थामा प्रवेश गर्दै छ । नेताभन्दा एजेन्टहरूको संख्या बाक्लिँदै गएको अवस्थामा एमसीसी, बीआरआई यस्ता अस्त्र हुन् न निल्न सकिन्छ, न ओकल्न नै ।
टिप्पणीहरू