बजार भाउ चुलियो, सरकार मुकदर्शक

बजार भाउ चुलियो, सरकार मुकदर्शक

पछिल्लो समय नेपाली बजारमा सबैथोक महँगिएको छ । खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर आकाशिएको छ । नेपाका बजार सामान बेच्ने थलो होइन लुट्ने गतिलो माध्यम बनेको छ । पसलैपिच्छे फरक मूल्य हुनु र सामान किनेपछि बिल नदिनु व्यापारीको धर्म बनेको छ । अर्कोतर्फ अनुगमन गर्ने सरकारी निकाय पनि लाचार देखिएको प्रमाण हो यो ।

भान्सामा दैनिक प्रयोग हुने खानेतेलको मूल्य छोइनसक्नु भएको छ भने । सवारी साधनमा प्रयोग हुने इन्धन पनि त्यत्तिकै महँगो छ । बजार भाउ चुलिएर आकाश छुन खोज्दा पनि नियमनकारी निकायले कानमा तेल हालेर बसेको उपभोक्ताहरुको आरोप छ ।

विगत एक महिनाको अवधिलाई हेर्ने हो भने हरेक वस्तुमा अस्वाभाविक तवरले मूल्यवृद्धि भएको छ । युक्रेन र रुसबीचको युद्धका कारण सबै थोकमा कच्चा पदार्थ महँगिएको भन्दै उद्योगीहरुले सामानको मूल्य बढाएका छन् । यता, व्यापारीहरुले पूरानै मौज्दातलाई नयाँ भाउ राखेर बिक्री वितरण गरिरहेको पाइन्छ ।

नेपालीको भान्सामा दैनिक उपयोग हुने खाद्यान्न र तरकारीको मूल्य छोइनसक्नु भएको छ । रुस र युक्रेनबीचको युद्धको बहानामा उपभोक्ता ठग्ने कामको थालनी भइसकेको उपभोक्ताकर्मीहरुको अराोप छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरिरहेको दाबी गरेको छ । तर, बजारको भाउ यसरी निरन्तर बढ्दा कहिँकतै अनुगमन भएकोजस्तो देखिँदैन । बजार भाउ अत्यधिक हुँदा उपभोक्ताको ढाड सेकिएको छ ।

बढ्दो महँगीले सामान्य पेशा गरेर गुजारा गर्ने र उसको परिवारको जनजीवन कष्टकर बनेको छ । अस्वाभाविक रुपमा बढेको बजार भाउले सर्वसाधारणलाई बिहान र बेलुकाको गर्जो टार्न सकस परेको हो । अन्तर्राष्ट्रिय बजार महँगिएको बताउँदै अत्यावश्यक सामानको मूल्यमा सबैभन्दा धेरै बढाइएको छ । एक महिनाको अवधिमा एक लिटर खानेतेलमा ५० रुपैंयासम्म मूल्यवृद्धि भएको छ । दुई सय ४० रुपैयाँ पर्ने भट्मासको तेलको बजार भाउ अहिले दुई सय ७० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, दुई सय ५० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य बढेर दुई सय ९० पुगेको छ । काँचो तोरीको तेल तीन सय ८५ रुपैयाँ प्रतिलिटर पुगेको छ । अन्य उपभोग्य वस्तुमध्ये चामल, दाल र गेडागुडीको पनि भाउ बढेको छ । तरकारीमा नभई नहुने बेसारमा प्रतिकिलो ५० र धनियाँमा एक सय रुपैयाँ बढाइको छ । यता, जीराको मूल्य भने ५० रुपैयाँले घटेको छ । ९५ रुपैयाँ किलोमा पाइने चिनीलाई एक सय रुपैयाँ लिन थालिएको छ ।

कृषि तथा पशुपालन विकास मन्त्रालयले स्वीकृति दिएसँगै दुग्ध विकास संस्थानले समेत दुधको मूल्य बढाएको हो । दुधको मूल्य नौ रुपैयाँले बढेसँगै खरिदकर्ताले प्रतिलिटर ८५ रुपैयाँ तिर्नुपर्ने भएको छ । कच्चा पदार्थको मूल्य बढेको बताउदै दाना उद्योगीहरुले दानाको मूल्य बढाएपछि कुखुराको मासु र फुल अत्यधिक महँगो भएको छ । हाल कुखुराको मासुको भाउ प्रतिकिलो चार सय बढी पुगेको छ ।

हरियो तरकारी र सागसब्जीको मूल्यसमेत बढेको कालीमाटी फलफूल तथा तरकारी बजारले जानकारी दिएको छ । कालीमाटीमै तरकारीको भाउ बढेपछि अन्य खुद्रा बजारमा छोइनसक्नुको स्थिति बनेको हो । हरियो तरकारी र फलफूल बजारभित्रै विकृत बजार सञ्चालन हुँदा यस्तो अवस्था आएको बताइन्छ । किसान र उपभोक्ता सँधै ठगिने तर बिचौलिया मोटाउने प्रथा कायम रहेसम्म किसान र उपभोक्ताले उचित मूल्य नपाउने अवस्थाको सिर्जना भएको छ ।

किसानहरुलाई आफ्नो उत्पादनको लागत उठाउनसमेत हम्मेहम्मे छ । उपभोक्तालाई मँहगोमा किन्नपर्ने बाध्यता छँदैछ । फितलो अनुगमनको कारण व्यापारीहरुले आफ्नो मनोमानी चलाएका छन् । यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग चाल पाए पनि नपाएझै गरेर बसिरहेको आरोप लागेको छ । रुस र युक्रेनको युद्धलाई देखाउँदै कतिपय व्यापारीले कालो बजारीसमेत सुरु गरिसकेको सहजै अनुमान गर्न सकिन्छ ।

स्थानीय चुनाव नजिकिँदै जाँदा बजार महँगो भएको आशंका पनि गर्न थालिएको छ । नेपालको सन्दर्भलाई हेर्दा एक पटक कुनै सामानको मूल्यवृद्धि भएपछि घट्ने सम्भावना हुँदैन । जति नै अनुगमन गरेको दाबी गरे पनि एक पटक भाउ बढाइएपछि त्यसलाई घटाउन असम्भवझैँ देखिएको विगतको अनुभवले पाठ सिकाएको छ । यसको फाइदा र सीमित उद्योगी र व्यपारीले लिइरहेका छन् भने गरिब मारमा परेका छन् ।

खाधान्नमा मात्र नभई निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । पछिल्लो समय छड र इँटाको मूल्य पनि चुलिएको छ । त्यसैगरी, डिजेलको भाउ बढेर एक सय ३३ र पेट्रोलको भाउ बढेर एक सय ५० रुपैयाँ पुगेको छ । इन्धनको भाउ बढेसँगै यातायात व्यवसायीहरुले सार्वजनिक सवारीको भाडा बढाउने घोषणा गरिसकेका छन् । सार्वजनिक सवारीको भाडा बढेपछि उपभोग्य सामानको मूल्य झनै बढ्ने पक्का छ ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले उद्योगीहरुले नै सामानको मूल्य बढाएपछि बजार भाउ महँगिएको जानकारी दिए । ‘उद्योग र होलसेलले नै बढाएपछि खुद्राले त बढाउने भइहाले,’ उनले भने । स्थानीय चुनावको कारण पनि केही व्यापारीले सामानको भाउ बढाएको उनको आशंका छ । आयातकर्ता र उद्योगीलाई अनुगमनको दायरामा ल्याउने हो भने मूल्यवृद्धि घट्नेमा संघको जोड छ । ठूलालाई केही गर्न नसक्ने अनि सानालाई मात्र दुःख दिने गरेको गुनासो संघले गरेको छ ।

त्यसैगरी, उपभोक्ता अधिकार मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सनाले बजारमा सरकार नै नभएको आभाष भएकाले महँगी बढेको बताए । व्यापारीका लागि मात्र सरकार भएकोजस्तो अनुभव छ । उनले बजारबाट उपभोक्ता वर्ग मात्र पीडित भएको उल्लेख गरे । हाल वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेकाले प्रधानमन्त्रीले नै उपभोक्ता लुट्ने छुट दिएको महासचिव तिमिल्सनाको आरोप छ ।

यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरिरहेको दाबी गरेको छ । तर, बजारको भाउ यसरी निरन्तर बढ्दा कहिँकतै अनुगमन भएकोजस्तो देखिँदैन । बजार भाउ अत्यधिक हुँदा उपभोक्ताको ढाड सेकिएको छ । अनुगमन गर्ने निकायले व्यापारीको बचाउमा काम गरिरहेको सर्वसाधारणको आरोप छ । बजारमा जथाभावी मूल्य तोकिँदा पनि सरकारले बजारभाउ नियन्त्रण गर्न भने सकेको छैन ।

टिप्पणीहरू