भोटको दुकान, रोटी कपडा और मकान

भोटको दुकान, रोटी कपडा और मकान

भारतमा हालै सम्पन्न विधानसभा चुनावको नतिजाले अचम्मित पार्ने दुईखाले परिणामलाई सामुन्नेमा ल्याएको छ । ०४५ सालको इतिहासकै सबैभन्दा बढी बेरोजगारीको समस्या, जिडिपी ऋणात्मक, इतिहासमै सबैभन्दा बढी महँगाइ, महिला हिंसा उत्तिकै, कोरोनाकालमा अक्सिजन र अस्पतालमा बेड नपाएर भएको मृत्यु, लकडाउनको कारण हजारौंको संख्यामा सयौं किलोमिटर पैदल हिँड्न बाध्य मजदुर, गंगा नदीमा तैरिएका र नदी किनारमा गाडिएका लाश तथा कृषि कानुनविरुद्ध उठेको आन्दोलनलाई देखेका, भोगेका जनताले फेरि पनि भाजपालाई नै समर्थन गरे । यी सबै मुद्दा उठाउने कांग्रेसलाई साथ दिएनन् ।

वास्तवमै यो नतिजा आश्चर्यचकित पार्ने किसिमको छ । किनभने यसले जनताका दैनन्दिन, रोजीरोटीका, नोकरी अथवा निजी आस्थासँग जोडिएको धर्म तथा जातीय सवालमध्ये के मुख्य हुन् भन्ने कुरालाई सामुन्नेमा ल्याएको छ । अर्कोतर्फ, हनुमान चालिसाको पाठ पढ्ने र शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातजस्ता कुरा पनि गर्ने आमआदमी पार्टीलाई पनि जिताएको छ पञ्जाबले । यस जितबारे भारतमा अहिले एउटा कन्स्पिरेसी थ्यौरी जोडतोडले चलिरहेको छ । थ्यौरी के हो भने चुनाव हुनुपूर्व नै विद्युतीय मतदान प्रणालीमाथि छेडखानी गरिएको छ ।

दिल्ली र पञ्जाबमा कांग्रेसलाई र पश्चिम बंगालमा कांग्रेस तथा सिपिआई दुबैलाई नामेट पार्ने किसिमले इभियम् सेट गरिएको र यसै योजनाअनुसार ममता बेनर्जीको टिएमसी र केजरीवालको आमआदमी पार्टीलाई जिताउने गरी काम भयो भनिँदै छ । आउने चुनावमा यी दुइटै दललाई हराइनेछ मेसिनकै माध्यमबाट । अहिले भाजपा र आमआदमी पार्टीको जितलाई लिएर उठेको कन्स्पिरेसी थ्यौरीलाई खारेज गरिदिने हो भने भारतको चुनावले अरू सबै कुराभन्दा बढी भोकको मुद्दालाई, पैसा बचत हुने मुद्दालाई प्राथमिकतामा राखेको देखिन्छ ।

अनेकौं दुःख, कष्टका बाबजुद पनि युपीका जनता र खास गरी महिलाले भाजपालाई समर्थन गरेको देखियो । टिभी च्यानल तथा अन्य संस्थाले गरेको सर्भेलाई मान्ने हो भने ती महिला तथा गरिब तप्काका मानिसले त्यहाँका किसानको खातामा आउने वार्षिक ६ हजार, उज्ज्वला योजनाअन्तर्गत हरेक घरलाई एउटा निःशुल्क ग्यास सिलिण्डर तथा चुनाव शुरु हुनु केही पहिलाबाट वितरण गरिएको मुफ्त रासनलाई नै भाजपालाई समर्थन गर्नुको मुख्य कारण बताए । यसबाट के देखिन्छ भने विभिन्न समयमा भोग्नुपरेका अनेकौं दुःख–कष्टभन्दा दैनिक पेटको सवाल ज्यादा महŒवपूर्ण हुनेरहेछ । यसलाई अझ मजबुत बनाउन धर्म र जातीय मामिला त छँदै छ ।

उता, आम आदमी पार्टीको पञ्जाब जितमा पनि यही कुरा लागू हुन्छ । दिल्लीमा ठूलो दंगा भयो । हिन्दू र मुस्लिम दुबै धर्मका धेरै मानिस मारिए । तर, आमआदमी पार्टीको सरकार दिल्लीमा भएको त्यति ठूलो दंगालाई रोक्न सडकमा आएन । दिल्ली पुलिस आफ्नोअन्तर्गत नरहेको दलिल दिएर दंगा हुन दिइरह्यो । उक्त दिल्ली दंगाबाट ठूलो जनधनको क्षति भयो, कतिपय निर्दोष नागरिक अगुवालाई दिल्ली पुलिसले यस मामिलामा झुटो आरोप लगाएर जेलमा थुनेको छ । तर, यस विषयमा आपको सरकार चुँसम्म गर्दैन ।

उसले जनताको पैसा जोगाइदिने योजना लागू गरेको छ । दिल्लीवासीको निम्ति स्वास्थ्योपचारमा अत्यन्तै कम खर्च लाग्ने बनाएको छ । सरकारी स्कुल स्तरीय र निःशुल्क छ । तीन सय युनिट बिजुली तथा पिउने पानी फ्रि गराएको छ र महिलालाई मेट्रोमा यात्रा निःशुल्क छ । यस्तो गर्नु भनेको जनताको पकेटमा रहेको पैसा उनीहरूकै पकेटभित्र रहिरहन दिनु नै हो । उक्त बचत हुने पैसा तिनले रोटी र कपडाको निम्ति खर्च गर्न सक्ने भए ।

उल्लिखित दुई वटा दृष्टान्तले के कुरातर्फ इंगित गर्छ भने अरु जेसुकै कुरा भन्दा पनि रोटी र कपडाको सवाल नै मुख्य रहेछ । बौद्धिक तथा राजनीतिक, सैद्धान्तिक हिसाबले हेर्दा कांग्र्रेसले उठाएको गरिबी, बेरोजगारी, महँगी, महिला हिंसा, भ्रष्टाचारका मुद्दा महŒवपूर्ण हुनुपर्ने हो र तिनै आधारमा भोट आउनुपर्ने हो । तर, त्यसो नगरेर जनताले आफूले प्राप्त गरेको एकदमै नगन्य सुविधालाई पनि ठूलो महत्व दिए र त्यसैको आधारमा मतदान गरी जिताए ।

हाम्रो देशमा पनि यस्तो भएको देखिन्छ विगतमा । नेकपा (एमाले) ले अल्पमतको सरकार बनाएको बेला शुरु गरेको बृद्धभत्ता, एकल महिला भत्ताजस्ता पकेटमा पैसा आउने कुरालाई जनताले अति नै स्वागत गरेको र त्यसको निम्ति पटकपटक सरकारमा पठाएकै हो । यो कुराको अहिलेसम्म पनि चर्चा चल्ने गर्छ गाउँघरमा । तर, एमाले यस्तै खाले जनताको पैसा जोगिने अन्य कार्य गर्नबाट भने लगातार विमुख हुँदै गयो । अरु वामपन्थी दल पनि यस्तो सवालमा एमालेपन्थी नै हुन् ।

चाहे एमाले होस् अथवा माओवादी दुबै दल सरकारमा रहँदा शिक्षा झन्भन्दा झन् महँगो मात्रै होइन कि गरिबको पहुँचबाहिर र दुई प्रकारको बन्दै छ । गरिबका छोराछोरी नदी किनारमा बावुआमासँगै गिट्टी कुटिरहेका भेटिन्छन् भने हुनेखानेहरू कुन स्कुल महँगो र राम्रो होला छोराछोरी पढाइको निम्ति भन्दै हिँडिरहेका भेटिन्छन् । स्वास्थ्य क्षेत्रमा पनि हालत त्यस्तै छ । गरिबले अस्पताल होइन धामीझाँक्रीको भर पर्नुपर्ने अवस्था छ ।

अस्पताल हुनेखानेहरूको लागि मात्रै खोलिएको हो जस्तो लाग्छ । अस्पताल नै थ्री स्टार, फाइभ स्टार अरे, झोंकै चल्ने! किसानहरू महँगोमा बीउ र मल किन्न बाध्य छन् । जनता अरु त अरु आफ्नै देशमा उत्पादित बिजुली धनी देशका जनताले भन्दा धेरै महँगोमा किन्न बाध्य छन् । बिजुली महँगो भएको कारण आयातित ग्यास प्रयोग गर्न बाध्य छन् । के बिजुली सस्तो गर्न सकिन्न? सकिन्छ, गरेकोे खण्डमा तर यस्तो गर्दैनन् । यस्तो गरेर जनताको पैसा जोगाउने रुचि देखिन्न ।

एक–दुई साल पहिलेदेखि एमालेले भाजपाको कुनै पनि जितमा धार्मिक र जातीय कुराले पनि कुनै न कुनै हिसाबले सहयोग गरेको छ भनेर मानेको देखिन्छ । यही कारण हुन सक्छ हिजो पशुपतिमा सुनको जलहरी हाल्ने काम गरेको र राम ठोरीमा जन्मेको हो भन्ने कुरालाई जोडतोडले उठाउन खोजेको । सुनको जलहरी त राजनीतिक हिन्दूहरूलाई प्रभावित पार्ने भन्दा पनि भ्रष्टाचार गर्ने कुरासँग बढी सम्बन्धित हो, ठोरीको कुरा त विशुद्ध धार्मिक हो । तर पञ्जाब बिधानसभा चुनावको नतिजालाई हेर्दा धर्म र जातीय कुरालाई भन्दा पनि घरमा भएको पैसा बचत हुने कुरालाई नै पञ्जाबी जनताले महत्व दिएको देखिन्छ ।

के नेपालका कम्युनिष्टहरूले पनि आमआदमी पार्टीले दिल्ली र पञ्जाबमा हासिल गरेको चुनावी सफलताबाट शिक्षा लिने कोसिस गर्लान् ? धार्मिक कुराले समाजमा विभाजन ल्याउन त सकिएला तर चुनावमा थोरै नै किन नहोस् भोको पेट र नांगो शरीर ढाक्ने समस्यामा सहयोग गर्नेलाई नै अन्ततः जनताले समर्थन गर्छन् भन्ने देखियो । कथित राष्ट्रवाद, पूरा गर्न नसकिने रेल र पानीजहाजजस्ता काइते विकास र समृद्धिको ललिपपबाट मुक्त गरी जनताले दैनिक जीवनमा महसुस गर्न सक्ने किसिमको काम गरेर जनताको मन जित्न सकिने मोडलमा दलहरूले देशलाई लैजान आफूलाई बदल्न सक्लान् वा त्यसतर्फ सोच्लान् त ? अबको राजनीतिक सफलता र असफलता धेरै हदसम्म यिनै कुराले पनि तय गर्ने देखिन्छ ।

त्यसकारण अब कम्युनिष्टले एक, दुई, तीन र यो यो यो भनेर स्पष्ट समय निर्धारित कार्ययोजना बनाई जनतामा नजाने हो भने गरिबी र गरिबले कम्युनिष्ट पार्टीलाई जिताउने दिन अब सकियो भनेर जान्दा हुन्छ ।

टिप्पणीहरू