चीनलाई चिढ्याउने धन्दा कसले चम्कायो ?
चिनियाँ विदेशमन्त्री तथा राज्य परिषद्का सदस्य वाङ यी तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको भोलिपल्ट काठमाडौँका विभिन्न ठाउँमा चीनविरोधी उत्तेजक नारा लेखिएका स्टिकर टाँसिएको छ ।
काठमाडौँको मध्य भागमा पर्ने बागबजार,कमलादी आसपासका क्षेत्रमा चीनको विरोध गर्दै सेतो अक्षरमा लेखिएका राता स्टिकर टाँसेको पाइएको हो ।
सँधै व्यस्त रहने सो क्षेत्रका गल्लीका भित्ता र ब्यानरमा ‘सर्वसत्तावादी चीन-नेपाली भूमि फिर्ता गर’,चिनियाँ नाकावन्दी फिर्ता गर’ लेखिएका स्टिकर छ्यापछ्याप्ती पारिएको छ ।
यस्तो स्टिकर कसले र किन टाँसेको हो भन्ने खुलेको छैन । प्रहरीले अज्ञात समूहले ठाउँ ठाउँमा यस्ता स्टिकर टाँसेको बताएको छ ।
चिनियाँ विदेशमन्त्रीको भ्रमणलगत्तै यस्तो स्टिकर टाँसिनुलाई रहस्यमय ठानिएको छ ।
यसअघि उपराष्ट्रपति भवन र केशरमहलको गेटमा ‘नेपाली प्रजातान्त्रिक दुश्मन चीन मूर्दावाद’, ‘चिनियाँ विस्तारवाद मूर्दावाद’ जस्ता उत्तेजक नारा लेखिएको स्टिकर टाँसिएको थियो ।
टिप्पणीहरू