सियो मात्रै ३ करोड बढीको ल्याइयो
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्यका सियो नेपाल भित्रिएको हो ।
पछिल्लो आठ महिनामा कूल तीन करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको देखिन्छ । उक्त मूल्यमा दुई करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार चार सय ७३ केजी सियो नेपालले आयात गरेको हो ।
विभागका अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्विट्जरल्याण्ड, ताइवान, अमेरिका र कतारबाट सियो ल्याइएका हुन् । नेपालले सबैभन्दा बढी सियो भारत र चीनबाट आयात गर्ने गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा चीनबाट दुई करोड ४४ लाख ३५ हजार रुपैयाँ र भारतबाट ७९ लाख ३४ हजार रुपैयाँको सियो ल्याइएको छ । अघिल्लो आर्थिक वर्षमा विभिन्न देशबाट दुई करोड ५४ लाख तीन हजार रुपैयाँ बराबरको सियो आयात गरिएको थियो ।
उक्त हिसाबले अघिल्लो आर्थिक वर्षमा आयात गरेको बढी मूल्यको सियो नेपालले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ल्याइसकेको छ । यहि अनुपातमा ल्याउने हो भने एक वर्षमा पाँच करोड रुपैयाँको सियो आयात गर्ने अनुमान गर्न सकिन्छ ।
टिप्पणीहरू