नबिल बैंकले युवा पुस्तालाई उद्यमी बनाउने
नबिल बैंकले नबिल स्कुल अफ सोसलअन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ । पहिलो ब्याचअन्तर्गतलाई अहिले आवेदन आह्वान गरिएको हो । सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले यो वर्षदेखि गैरनाफामुलक प्रमाणपत्र कार्यक्रमको सुरुवात गरेको बताइएको छ ।
प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जालगायतका विभिन्न विषयवस्तु र क्षेत्रमा देशभर सामाजिक उद्यमशीलता प्रवद्र्धनलाई जोड दिएको हो ।
सर्वसाधारणमा सकारात्मक परिवर्तन ल्याउन, सामाजिक प्रभाव सिर्जना गर्न कुनै परियोजना वा सोचलाई उद्यममा रुपान्तरण गर्न यसले सहयोग पुर्याउनेमा बैंक विश्वस्त देखिएको हो । त्यसैगरी, जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य हो ।
राज्यको दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्याउँदै समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको बैंकले जनाएको छ । यो कार्यक्रमका निम्ति सातवटै प्रदेशका कलेजहरुसँग सम्झौता गरिसकिएको जानकारी दिइएको छ ।
जसमा प्रदेश नम्बर १ बाट महेन्द्र मोरंग आदर्श मल्टिपल क्याम्पस बिराटनगर, मधेश प्रदेशको वीरगञ्ज पब्लिक कलेज, बाग्मतीको काम्पिएन कलेज ललितपुर, गण्डकीमा ल ग्राण्डी इन्टनेशनल कलेज, पोखरासँग सम्झौता भइसकेको छ ।
त्यसैगरी लुम्बिनीमा क्षितिज इन्टरनेशनल कलेज बुटवल, कर्णालीमा सुर्खेत मोडल कलेज विरेन्द्रनगर, सुदुर पश्चिमाञ्चलमा सुदुरपश्चिमाञ्चल एकेडेमी धनगढी पनि यसमा परेका छन् । उक्त साझेदारीबाट वर्षेनी सात सय तालिमप्राप्त सामाजिक उद्यमी तयार पार्ने बैंकको उद्देश्य रहेको छ ।
आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने अथवा समुदायमा सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्न चाहने १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले तोकिएको मापदण्डअनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकहरुले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्याङ्कन गरी प्रमाणपत्र कार्यक्रमका सहभागीहरुको छनोट गरिनेछ । छनोटमा परेका सहभागीलाई सामाजिक उद्यमशीलता सम्बन्धी विभिन्न विषयवस्तुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागी गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशील सोच र लगानी योग्य व्यवसायिक योजनाका लागि तयार हुने नबिल बैंकले जनाएको छ ।
टिप्पणीहरू