संयोगको फल : जिन्दगीको पल
के हो जीवन ? कसरी चलिरहेछ यो ? जसरी मिलेको, त्यसरी चलिरहेछ । दुई विपरीत लिंगीको योगफल, योगकै आधारमा सञ्चालित छ । मानौं, संयोग हो जीवन । नमानेर पो के गर्नु ? संयोगकै दासी जो छौं हामी । आकस्मिकता वा भवितव्य हुने घटनाहरुबाट हाम्रो जीवन हमेशा प्रभावित भइरहेको हुन्छ । जीवनमा हुने लाभ वा क्षति संयोगकै परिणाम हुन् । अर्थात्, परिस्थितिमा निहित छ हाम्रो सौभाग्य–दुर्भाग्य । हामी त सिर्फ यात्री हौं, कुन बाटो हिँड्ने, कस्तो कर्ममा डोरिने चाहिँ संयोगको खेल ।
म पत्रकार भएको नाताले पहिले पत्रकारिताकै कुरा गर्छु । एक पत्रकार कुनै विषयमा समाचार संकलनका लागि कुदिरहेको हुन्छ । त्यसरी हिँड्दा उसको भेट अकस्मात् कसैसँग हुन जान्छ । त्यो व्यक्तिले उसलाई कुनै अर्काे खास सूचना दिन सक्छ । पत्रकारले त्यसलाई समाचारको रुपमा प्रकाशन÷प्रसारण गरेर नाम, दाम कमाउन पुग्छ । समाचारबाट समाज कुनै न कुनै रुपमा प्रवाहित भइहाल्छ ।
आम मानिसकै कुरा गरौं । कुनै एउटा व्यक्ति आफ्नो साथीको बिहेमा जन्ती जाँदा बेहुलीको घरतिरकी एउटी केटीसित भेट हुन्छ । कुराकानीका क्रममा एकअर्काको फेसबुक आईडी लिन्छन् । त्यसपछि दिनहुँजसो उनीहरुको म्यासेन्जरमा कुरा हुन्छ । पछि बिहे नै हुन पुग्छ । यसरी साथीको विवाहमा जन्ती जाँदा भेटिएको संयोग कालान्तरमा उनीहरुको विवाहमा परिणत भइदियो ।
यस्तै, कुनै मानिस कतै जान हिँडिरहेको छ । बाटोमा उसको एउटा साथी भेटिन्छ । साथीसँग ५/७ मिनेट कुराकानी हुन्छ । त्यसपछि बस स्टप पुग्नै लाग्दा एउटा गाडी छुटिहाल्छ । केर बेरमै अर्काे गाडी आउँछ, त्यसमा चढेर ऊ गन्तव्यतिर जान्छ । अलिपर पुग्दा अघि छुटेको गाडी एक्सिडेन्ट भएर थुप्रै यात्रु हताहत भएका हुन्छन् । ऊ चढेको गाडीचाहिँ सकुशल अगाडि बढ्छ । यहाँ के देखिन्छ भने साथीसँग भेट भएको संजोगले उसलाई दुर्घटनाबाट बचाउँछ ।
जीवन यात्रा हो, त्यसैले यात्राकै दृष्टान्त दिउँ । त्यसमा पनि हवाईजहाजकै कुरा गरौं न ! कुरा गर्दैमा कसको के नै पो जान्छ र ? चितवनको एक व्यक्ति हवाईजहाज चढेर काठमाडौंबाट दिल्ली जान लागिरहेछ । उसको छेउको सिटमा नेपाल घुम्न आएको एकजना भारतीय छ, आफ्नो देश फर्किन लागेको । हवाईजहाजले आफ्नो उडान भर्छ । दिल्ली पुगेको २÷३ दिनमा चितवने मानिसलाई ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिन्छ । त्यसको केही दिनपछि उपचारको क्रममा दिल्लीमै उसको निधन हुन्छ । पछि उसको परिवारले पत्ता पाउँछन्, ऊ सँगैको सिटमा यात्रा गरेको भारतीय कोरोना संक्रमित थिए । उदाहरणको मतलब हाम्रो जन्म जस्तै मृत्यु पनि संयोगसितै जोडिएको छ भन्ने हो । कैयौं मानिस बूढो भएर पनि लामो आयु बाँच्दछन् । उनीहरुलाई पनि संयोगले नै बचाउँदै ल्याएको हो आखिरीसम्म ।
मानिसको चोलामात्र होइन हरेक प्राणीको जन्मदेखि मृत्युसम्मको समय सबै संयोगद्वारा निर्धारित हुन्छ । कुनै पुतली उड्दाउड्दै एउटा घरभित्र पस्न पुग्छ, भित्तामा बस्नासाथ एउटा माउसुली खुरर्र आएर खाइदिन्छ । त्यो घरभित्र पस्ने संयोगले पुतलीको मरण भयो, त्यही संयोगले माउसुलीलाई आहारा दियो । भनेपछि एउटै संयोग पनि कसैलाई राम्रो, कसैलाई नराम्रो हुन सक्छ ।
यसैगरी, कुनै एउटा गुलाबको बोटमा दुईवटा फूल फुलिरहेको छ । एउटा केटा आफ्नो गर्लफ्रेन्डलाई दिन एउटा फूल टिप्ने विचार गर्छ । संयोगले त्यतिखेर काँडामुन्तिर भएको फूल बच्छ । किनभने उसले त्यो नटिपी अर्काेचाहिँ टिपेर लैजान्छ ।
झट्ट हेर्दा हाम्रा हरेक क्रियाकलाप र त्यसको सबैजसो नतिजामा हामी नै कर्ता र कारणको रुपमा देखिन्छौं । तर वास्तवमा समय र संयोगबाटै हामी परिचालित भएको भेउ पाउन सितिमिति गाह्रै पर्छ । त्यसैले हाम्रो आफ्नै बलबुतामा चोला चलिरहेको सम्भ्रममा छ मानिस । तर जिन्दगीको प्रत्येक क्षण संयोगबाटै गुज्रिएको हुन्छ । जिन्दगीमा आउने सबै आरोह–अवरोह, सप्ठ्यारा–अप्ठ्यारा, अझ भन्नुपर्दा सुख–दुःख संयोगले निम्त्याउने भोगाइ हुन् ।
केही अघि नारायणी नदीमा एउटी महिला मर्छु भनेर हामफालेकी थिइन् । संयोगले त्यहाँ चलिरहेको मोटरबोटले उनको उद्धार ग¥यो । हामीले बाँच्न चाहेर बच्ने, मर्न चाहेर मरिहाल्ने होइन जीवन । सम्भोगको फल भएकैले जीवनमा सम्बन्धनको आवश्यकता परेको हो । एक्लो जीवन व्यतीत गर्न कठिन मात्र होइन असम्भव छ । बिहे नै नगरेपनि समाजका अरु मानिससित जोडिएरै चलाउनुपर्छ जीवन ।
टिप्पणीहरू