छापा माध्यमको दर्बिलो छ छाप
नयाँ गीत जति आएपनि पुरानो गीतको लोकप्रियता कहाँ कम भएको छ र ? कहावत् नै छ, ‘वल्ड इज गोल्ड’ । यस्तै, सूचना प्रविधिको अहिलेको युगमा विद्युतीय मिडिया जति नै खुलेपनि छापा सञ्चारमाध्यमको प्रभावकारिता कहिल्यै सकिने देखिँदैन । मिडिया विकासको प्रारम्भ छापाबाटै भएको हुँदा यसको उपयोगिता पनि अनन्तकालसम्मै रहने विश्वास गर्न सकिन्छ । मोटर–गाडी, हवाईजहाज आदि आएर साईकलको जमाना कहाँ सकिएको छ र ? अझ नयाँ–नयाँ मोडेलमा साईकल–मोटरसाईकल निस्किइरहेकै छ । पत्रपत्रिकाहरुमा पनि नयाँ–नयाँ शैलीमा खबरहरु प्रकाशित भइरहेको हामी पाउँछौं । केही पत्रपत्रिका त महत्वपूर्ण सूचनाका लागि पहिल्यैदेखि जनमानसको नजरमा फूल बनेर रहेका छन् ।
खबर एउटै भएपनि कम्प्युटर, मोबाईलमा आउने अनलाइन समाचारबाट पत्रिका नै पढेको जस्तो रस के मिल्नु ? जसरी पाँचऔंलाले मुछेर हातले भात खाने बानी परेकालाई चम्चाले खाएको सन्तुष्टि मिल्दैन । सन्तृप्तिको मात्र कुरा होइन, स्वास्थ्यको दृष्टिले पनि मोबाईल वा कम्प्युटर स्क्रिनमा धेरै बेर हेर्नु आँखाको लागि राम्रो मानिँदैन । हुन त पत्रपत्रिका, रेडियो, टिभी सबैको आ–आफ्नै महत्व भएजस्तै अनलाइन मिडियाको महत्तालाई पनि नकार्न सकिँदैन । तर विश्वसनीयताको दृष्टिले प्रिन्ट मिडिया नै अब्बल देखिन्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत हालै सो कुरा बताएका छन् । कोरोना कहरकै बेला मोदीले प्रिन्ट मिडियाको अद्भूत विश्वसनीयता रहेको भन्दै फेक न्युजबाट जनतालाई बचाउन अखबारहरुलाई आग्रह गरेका हुन् ।
हुन पनि अनलाइन मिडियाहरुमा निकै लापरबाही र बदमासी हुने गरेको नेपालकै अवस्थाले समेत दर्शाइरहेको छ । अरु बेलाको त कुरैं छाडौं, मिडियाहरु अझ बढी संयमित भएर लाग्नुपर्ने यस्तो विपत्तिको घडीमा समेत भ्युअर बढाउने होडबाजीमा हुँदै नभएका झुट्टा तथा नचाहिँदा सामग्री सम्प्रेषण गरेको पाइएपछि दर्जनौं अनलाइन प्रेस काउन्सिलको कारबाहीमा परेका छन् । करिब दुई दर्जन वेबसाइटलाई त नेपालभित्र प्रकाशन/प्रशारण हुनै नपाउने गरी बन्द गराइएको छ ।
टिप्पणीहरू