के नेपालीलाई मर्नदेखि डर लाग्दैन ?

के नेपालीलाई मर्नदेखि डर लाग्दैन ?

आज नेपालमा लकडाउन लागू भएको ठ्याक्कै १८ दिन भएको छ । तर, दुःखको कुरो अझै पनि देशको विभिन्न भागमा नेपालीहरुले लकडाउनलाई बेवास्ता गर्दै वा केही होइन भनेझैँ गर्दै बाहिरफेर बिना काम जताभावी हिँडिरकै छन् । कस्तो अचम्म ! लकडाउन लागू भएको १, २, ३ …, दिन मात्रै भएको भए त ल ठीकै छ, थाहा नभएर बाहिर निक्ले होलान् भन्नु !

अझै पनि नेपालका विभिन्न सहर र बजार र गाउँघरमा बसेका/रहेका मान्छेहरुले विश्वलाई नै त्राहीमाम बनाएको कोभिड–१९ नामक संक्रामक रोगको महामारीलाई केही होइन झैँ गरेर ख्यालठट्टा सम्झेका छन् । त्यसमा पनि देशकै केन्द्रीय राजधानीमा लकडाउनको १७ दिन बित्दा लगभग ४० हजार जनाले लकडाउन उल्लंघन गरे अरे ! मानौ अमेरिकी राष्ट्रपति ट्रम्प महोदयका जनता त यी अटेरी नेपालीहरु पो हुनुपर्ने … ! जेहोस्, यो प्रसंग यहीँ छाडौं । हाल विश्वलाई नै आतंकित पारेको र आजको मितिसम्म लगभग १६ लाखभन्दा बढी मान्छेलाई बिरामी बनाएको छ भने, १ लाखको नजिकमा मान्छेको मृत्यु हुन आँटेको अवस्था छ ।

यसरी हेर्दा कोभिड–१९ नामक संक्रामक रोगको भाइरस (जसलाई डब्लुएचओले महामारी घोषित भैसकेको छ) चीनबाट सुरु भएको भन्ने त लगभग सबैलाई ज्ञात नै छ । त्यसैले आउनु होस्, यसबारेमा छोटो चर्चा गरौं । चिनियाँ डाक्टर तथा लेखक प्रा.डा. वाङ चुङले कोरोना भाइरसबारे लेखेको एक लेख सहयोगी रातोपाटी अनलाइनले २ फागुन, २०७६ मा प्रकाशित गरेको थियो । प्रा.डा. वाङ चुङले सो लेखमा उल्लेख गरेअनुसार, सन् २०१९ को डिसेम्बर २६ मा ‘शांघाई सार्वजनिक स्वास्थ्य क्लिनिकल सेन्टर’ को वैज्ञानिक अनुसधान परियोजनाले ‘वुहान सहरीया केन्द्रीय अस्पताल तथा ऊहान रोग नियन्त्रण र रोग रोकथाम केन्द्र’ बाट पठाइएको अस्पस्ट कारणले ज्वरो लागेको बिरामीको नमुना संकलन गरेको थियो ।

डिसेम्बर २६ मै हुपेई प्रान्तको परम्परागत चिनियाँ र पश्चिमी चिकित्साको एकीकृत अस्पताल अन्तर्गत श्वास–प्रश्वास चिकित्सा विभागका निर्देशक झाङ जि सियनले आफ्ना बिरामीहरुलाई उपचार गराउने क्रममा ४ जना असामान्य निमोनिया लागेका विरामी भेटे । यसरी ‘कोरोना भाइरस निमोनिया’को प्रकोप आकस्मिक रुपमा देखा पर्यो/सुरु भयो । जसलाई सुरुमा ‘नोभेल कोरोना भाइरस’ (एनसीपी) नाम दिइयो भने, हाल ‘कोरोना भाइरस डिजिज–२०१९’ को छोटकरी नाम कोभिड–१९ नामले विश्वभरि चिनिएको छ । यसरी चीनको दक्षिण–पूर्वमा रहेको हुपेई प्रान्तको राजधानी वुहानबाट फैलन सुरु भएको कोभिड–१९ नामक संक्रामक रोगले हाल विश्वलाई नै आतंकित पारेको छ । संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नै यो रोग कोभिड–१९ को भाइरसलाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी घोषण गरी सकेको छ । हुन पनि हालसम्मको ताजा तथ्यांकअनुसार २०९ वटा देशमा कोभिड–१९ रोगको संक्रमण फैलिसकेको छ ।

त्यसो भए तापनि विश्वका विभिन्न देशमा विभिन्न समयमा आएको वा भनौं फैलिएको अनेक खाले महामारी रोगहरुको तुलनामा हाल फैलिएको ‘नोभेल कोरोनाभाइरस कोभिड–१९ नामक संक्रामक रोगले परमधाम ! (मृत्यु) को मुखमा पुर्याएका मानिसहरुको संख्या र संक्रामक रोगले च्यापेका रोगीहरुको उपचारमा पाएको सफलताको तुलना गर्दा हालको अवस्था धेरै राम्रो अथवा मर्नेहरुको संख्या कम रहेको भनी सम्बन्धित रोगका विशेषज्ञहरुले बताएका छन् । तापनि विश्वका कति मानिसहरुलाई अझै कोभिड–१९ नामक संक्रामक रोगले परमधाम पुर्याउने हो ? अहिले नै किटेर भन्न सक्ने अवस्था रहेन/छैन ।

हुन पनि सुरुमा चीनमा मात्रै नोभेल कोरोनाभाइरस डिजिज–१९÷कोभिड–१९ रोग फैलेको सम्झेर केही देशका राष्ट्र प्रमुख र नेताहरुले खुच्चिङ ! भने झैँ गरेका थिए, छेडछाड र ठट्टाको भाषा पनि प्रयोग गरेका थिए । तर, आज तिनै देश र ती देशका जनताहरुलाई नै कोभिड–१९ रोगको महामारीले नराम्रोसँग गाँजेको छ, उनीहरुलाई धेरै ठूलो संकटको घडीमा पुर्याएको छ ।

तर, हाल विश्वभरि नै महामारी रोगको रुपमा फैलिएको कोभिड–१९ बारे केही देशले भने, सुरुमै आफ्नो देशमा भविश्यमा महामारीको रुपमा नफैलियोस् भनी दूर–दृष्टि राख्दै पहिले नै सावधानी अपनाएकोले गर्दा हालसम्म पनि ती देशमा कोभिड–१९ जस्तो संक्रामक रोगको महामारीले उनीहरुलाई खासै सताएको छैन, सुरुमा ख्याल–ठट्टा गर्ने देश र ती देशका शासकहरुको तुलनामा । यस्तो देशमा खास गरी सिंगापुर, जर्मनी, दक्षिण कोरिया, स्वीटेन र भुटान आदि पर्छन । जुन देशहरुले बेला छँदै संक्रमण आफ्नो देशमा फैलिनुभन्दा अघि नै त्यहाँको सरकारले सकारात्मक र प्रभावकारी पाइला चालीहालेकोले गर्दा ती देशमा विश्वकै टाउको दुःखाई भएको कोभिड–१९ जस्तो महामारी रोगको संक्रमणले टाउको उठाउन पाएन । वा भनौं ती देशमा तुलनात्मक रुप कम जनधनको क्षति भएको देखिन्छ ।

जस्तै सिंगापुर मात्रै विश्वको एउटा त्यस्तो देश हो, जुन देशलाई विश्वकै पर्यटकीय, आर्थिक र व्यापारिक केन्द्र मानिन्छ । हुन पनि सिंगापुरमा हरेक दिन विश्वका कयौं देशका हजारौं मानिसहरु विभिन्न कामले ओहोरदोहोर गर्ने गर्छन् । तापनि सिंगापुर सरकारले आफ्नो देशमा २३ जनवरी २०२० मा पहिलोपटक नोभेल कोरोना भाइरसको संक्रामक रोगको लक्षण देखापर्ने बित्तिकै (सुरु) मै विभिन्न सुरक्षात्मक कदमहरु चाल्न थाल्यो । (स्मरणीय छ, सिंगापुरमा हालसम्म १ हजार ९१० भन्दा बढी मानिसमा कोभिड–१९ को संक्रमणमा परेका छैनन् । जबकि सिंगापुरभन्दा धेरैपछि ‘नोभेल कोरोना भाइरस कोभिड–१९ को संक्रमण’ देखा परेको इटली, फ्रान्स लगायत देश ‘टप फाइभ’भित्र परेका छन् भने, कोभिड–१९ संक्रामकको महामारी फैलदै÷देखा पर्दै गर्दा सबैभन्दा उत्ताउला बनेका ट्रम्पको देश अमेरिकामा आजका मितिसम्म लगभग ४ लाख ७० मान्छे बिरामी भएका छन् । यसरी अमेरिका कोभिड–१९ संक्रामक रोगको महामारीका कारण सबैभन्दा धेरै बिरामी हुने देशमा विश्वकै पहिलो देश भएको छ ।

त्यस्तै नेपालमा पनि हाल ‘नोभेल कोरोना भाइरस कोभिड–१९ को संक्रमण’ दोस्रो स्टेजमा देखा परेको छ । त्यसैले हामी नेपालीहरुले ‘नोभेल कोरोना भाइरस कोभिड–१९ को संक्रमण’बाट हुने महामारीलाई केही होइन भन्ने सम्झेर अमेरिकी राष्ट्रपति महोदय झैँ उत्ताउला नबनौं । कोरोनाको कहरबाट बच्नका लागि सचेता अपनाऔं । कि मर्नदेखि डर लाग्दैन ?

टिप्पणीहरू