खोलामा डुबेका बालकका परिवारद्वारा राजमार्ग ठप्प

खोलामा डुबेका बालकका परिवारद्वारा राजमार्ग ठप्प

हिजो दिउँसो खोलामा पौडी खेल्ने क्रममा एक जना बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । बालकका नातेदारले दोषीलाई कारबाहीको माग गर्दै बिहानैदेखि राजमार्गमा टायर बालेर यातायात बन्द गराएका छन् ।

उनीहरुले कमलामाई नगरपालिका–४ को ढुङ्ग्रेबासमा टायर बाल्दै अवरोध गरेका छन् । पीडित पक्षलाई छलफलको निम्ति बोलाए पनि नआएको र सडकमा टाएर बालेर राजमार्ग बन्द गराएको सिन्धुली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिजो दिउँसो फिक्कल गाउँपालिका–१ का १२ वर्षीय श्रीयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । कमलामाई नगरपालिका–४ र ६ वडा जोड्ने ग्वाङखोलामा पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर भुजेलको मृत्यु भएपछि आफन्त र थानीयवासीले शंकास्पद मृत्यु भनेका छन् ।

हिजो दिउँसो निधन भएका बालकको शव घटनास्थलमै छ । परिवारले शव बुझ्न मानेका छैनन् । उनी स्थानीय जनता आवासीय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

टिप्पणीहरू