अरु प्राणीको तनमनमा मान्छेको ज्यादती

कात्तिक मासको कुरा हो । श्याम आफ्नो घरमा पालेको कुकुरलाई डुलाउन लिएर हिँड्छ । सिक्रीले बाँधिएको छ कुकुर । सिक्रीको डोरी समातेर श्यामले कुकुरलाई डो¥याइरहेको हुन्छ । त्यही बाटोमा एउटी नबाँधिएकी कुकुरनी हिँडिरहेकी हुन्छे । श्यामको कुकुर त्यो कुकुरनीको पछाडि सुँघ्दै पछिपछि जान खोज्छ । त्यो क्रममा कतिपटक आफ्नो लिंग बाहिर निकाल्छ । पक्कै श्यामको कुकुरलाई सम्भोग गर्न मन लागिरहेको छ । तर श्यामले त्यो कुकुरनीलाई ढुंगाले हानेर धपाउँछ, ढुंगाले पेटमा लागेर कुकुरनी कुइँकुइँ कराउँदै भाग्छे । अनि श्यामले आफ्नो कुकुरलाई बलजफ्ती तानेर आफूसितै डो¥याउँछ, घरमा लगेर ढोकानिर बाँधिदिन्छ । त्यो बेला श्यामका छोराछोरी ट्युसन पढ्न गएका हुन्छन् । घरमा श्रीमती मात्रै । त्यही मौकामा ढोका थुनेर दिनमै पनि श्रीमतीसँग अँगालोमा बेरिँदै यौनक्रीडामा रम्न लाग्छ श्याम ।

रामलाई माछा खान निकै मन लागिरहेछ । तर लकडाउनको कारण माछा पसल बन्द छन् । त्यसैले ऊ नदीमै गएर माछा मार्ने सोच बनाउँछ । उसको घरमा दुईवटा बल्छी तम्तयार छन् । बारीमा गएर खन्दै माटोमुनि बाँचिरहेको गँड्यौला निकाली एउटा प्लाष्टिकमा हाल्छ अनि बल्छी लिएर जान्छ नारायणीमा । अब प्लाष्टिकमा ल्याएको गड्यौला चुँडाल्दै बल्छीमा उन्छ र नदीमा डुबाउँछ । गँड्यौलो खान आएका माछा उसको बल्छीमा अल्झिन्छन् । ठूल्ठूलै ४/५ वटा र केही भुरा माछा पनि परेपछि ऊ घर फर्किन्छ । बेलुकी खाना खाने क्रममा उसको घाँटीमा माछाको काँडा अड्किन पुग्छ । मरिएला कि भन्ने डरले तत्काल एम्बुलेन्स बोलाएर ऊ हस्पिटल जान्छ ।

सरिताको बच्चा घर अगाडि बाटोमा खेलिरहेको हुन्छ । एउटा मोटरसाईकल हुँइकिदै आएको देखेपछि सरिता दौडिँदै गएर बच्चालाई घरमा ल्याउँछे । सरिता बच्चा लिन दौडिएको त्यो बेला आफ्ना चल्लाहरुलाई केही गर्न आएको हो कि भन्ठानेर छिमेकी घरको कुखुरी प्वाँख फिजाउँदै गएर चल्लाहरुलाई ढाक्न पुग्छे । त्यही माउ कुखुरी आज काटिँदैछे । जसले पालेको हो, उसको छोरी आज स्कूलमा फस्र्ट भई । त्यही खुशीयालीमा कुखुरी काट्न लागिएको ।

भित्र कोक्रोमा सुताएको आफ्नो बच्चा रुन थालेपछि कृष्णकी श्रीमती बच्चालाई झिकेर स्तनपान गराउँछे । भोकाएको बच्चाले तनतनी उसको दूध चुस्छ । एकापट्टिको दूधले पुगेन होला भनेर अर्काेपट्टिको स्तन पनि बच्चालाई चुसाउँछे । त्यो बेला कृष्णको गोठमा दूध दुहुने समय हुन्छ । गाईको दूध चुस्न खोजिरहेको बाच्छोलाई हटाएर कृष्ण बाल्टीमा दूध दुहुन थाल्छ । बाच्छोचाहिँ भोकले बाँ बाँ गर्दै कराइरहन्छ । तैपनि केही बोल्न सक्दिन गाई, बस दुवै आँखाबाट आँसु बगाउँछे । कृष्णले बाल्टीभरि दूध दूहेपछि एउटा भाँडोमा हालेर डेरीमा बेच्न लैजान्छ । पछि बाच्छो गाईको लाम्टो चुस्न जान्छ तर दूध नै आउँदैन ।

हरिले घरदेखि केही पर चउरमा दिनभर भैंसी बाँधेको छ । टन्टलापुर घाममा भैंसी, हरिचाहिँ घरभित्र पंखा चलाउँदै टिभी हेरिरहेको थियो । साँझपख हरि भैंसी लिन जान्छ । हरिले किला उखेलेर डो¥याउँदै गर्दा भैंसीले आफूलाई मन पर्ने हरियो घाँस अगाडि देख्छ । भैंसी घाँसतिर जान खोज्छ तर हरि भने बल गरेर भैंसीलाई आफूतिर तान्छ । हरिले जोडले तान्दा नाकमा बाँधिएको डोरीले भैंसीलाई निकै दुखाउँछ र घाँस खाने मन हुँदाहुँदै पनि क्यै सीप नलागी भैंसी हरिसँगै डोरिन विवश हुन्छ । भैंसीलाई गोठमा बाँधेर हरि आफूलाई मन पर्ने तरकारी लिन पसलतिर जान्छ ।

हर्केले पालेको बाख्राले पाठो पाएको २÷३ महिना भयो । त्यो पाठोलाई खसी बनाउन लागिएको छ । विचरा त्यो पाठो प्याँ–प्याँ गर्दै निकै कराउँछ, तर पनि बलजफ्ती खसी बनाएरै छाडिन्छ । अस्ति साईकलबाट लड्दा साईकलको डन्डीले सन्नीमा लागेर निकै रन्थनिएको हर्के पाठोलाई खसी बनाउँदा भने रमाइरहेको थियो । आधा–एक महिनापछि त्यो खसी बाख्रीहरु देख्दा चढ्न जान्छ तर के गर्नु विचराको चिज नै हुँदैन । आफ्नो छोराको चाहिँ बिहे गरेको तीन वर्ष बढी भइसक्दा पनि बच्चा नजन्मिएकोले चिन्तित छ हर्के । यसबीच बच्चा होओस् भनेर थुप्रै डाक्टर, धामी–झाँक्रीलाई देखाइसके ।

(यस लेखमा प्रस्तुत पात्रहरु काल्पनिक हुन्, कसैको जीवनसँग मेल खाएमा संयोगमात्र हुनेछ ।)

टिप्पणीहरू