छोरी मारेर खोलामा फाल्ने आमा ६ वर्षपछि समातिइन्

छोरी मारेर खोलामा फाल्ने आमा ६ वर्षपछि समातिइन्

दुई वर्षे छोरीलाई मारेर खोलामा फालेकी एउटी महिला छ वर्षपछि पक्राउ परेकी छन् । २०७३ साउनमा दुई वर्षिया छोरी प्रमिला मण्डललाई मारेर बाढी आएको बेलामा खाडो खोलामा फालेर भागेकी सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका–७ की रानीदेवी मण्डललाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समातेको हो ।

जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि फरार मण्डललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले राजगढ गाउँपालिका–५ मलेखपुर गाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको हो ।

२०७३ साउन १२ गते दिउँसो छोरीको हत्या गरी हनुमानगर राजविराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको मुद्दामा मण्डललाई अदालतले दोषी ठहर गरेको थियो ।

पक्राउपछि उनलाई अदालतको आदेशअनुसार कैद भुक्तानको लागि कारागार कार्यालय राजविराज पठाइएको छ ।

टिप्पणीहरू