एनएमबी बैंक ईक्रा नेपालको रेटिङ्गमा ‘ए’
ईक्रा नेपाल लिमिटेडले एनएमबी बैंकको विगतको रेटिङ्गलाई स्तरवृद्धि गरेर ‘ए’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु वित्तीय जोखिमको दृष्टिकोणले सुरक्षित मानिन्छन । यस्ता संस्थामा न्यून कर्जा जोखिम हुने गर्दछ । । ईक्रा नेपाल लिमिटेड भारतस्थित इक्रा लिमिटेड अफ इण्डियाकोे सहायक कम्पनीको रुपमा नेपालमा दर्ता छ । यो नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त नेपालको पहिलो रेटिङ्ग एजेन्सी पनि हो ।
विगतका वर्षमा विभिन्न संस्थाहरुसँग भएको मर्जर तथा प्राप्तीको सकारात्मक प्रभाव, सो पश्चात् बैंंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालका कारण देशव्यापी रुपमा बैंकका ग्राहकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको बताइन्छ ।
यसबाट बैंकको बजार हिस्सामा भएको वृद्धि, पूँजीगत पर्याप्तता तथा तरलताको सहज व्यवस्थापनका कारण बैंकको कर्जा एवम् तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्नसक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको वृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवी व्यवस्थापन समेतका आधारमा ईक्रा नेपालले बैंकलाई यसअघि प्रदान गरेको रेटिङ्गस्तर बृद्धि गर्दै ‘ए’ प्रदान गरेको हो ।
कोभिड १९ को असरका कारण मुलुकको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमासमेत बैंकको परिसूचकहरुमा देखिएको उल्लेखित सुधारहरुबाट यो स्तरवृद्धि सम्भव भएको बैंकले जनाएको छ ।
यो बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्याङकर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबी बैंकका २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर छन् ।
टिप्पणीहरू