भरतपुरमा आगलागी, एक जनाको ज्यान गयो

भरतपुरमा आगलागी, एक जनाको ज्यान गयो

चितवनको भरतपुर महानगरपालिका १० बालमन्दिर रोड नजिकैको घरमा भीषण आगलागी भएको छ । शिखर इन्सुरेन्स कम्पनीको शाखा कार्यालय रहेको भवनमा भीषण आगलागी भएको हो ।

कम्पनीको बाहिरपट्टी झुण्डाएर राखिएको फलेक्स बोर्ड झिक्ने क्रममा अचानक करेण्ट सर्ट हुँदा आगलागी भएको जनाइएको छ ।

आगलागी हुँदा सोही कम्पनीको एक जना कर्मचारीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । भरतपुर १०, कटहर चोक बस्ने ३६ वर्षीया शकुन्तला पौडेल सुवेदीको ज्यान गएको हो ।

गम्भीर घाइते भएकी उनको अस्पताल लैजाने क्रममा निधन भएको हो । अस्पताल पुर्याए पनि उनलाई चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।

आगलागीबाट गम्भीर घाइते भएका ३२ वर्षीय तरुण थापालाई नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको छ । सोही कम्पनीका म्यानेजर अरुणदेव आचार्यको अवस्था भने मध्यम रहेको छ । हाल उनको पनि उपचार भइरहेको छ ।

दमकल, नेपाल प्रहरी र स्थानीय नागरिकको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण बाहिर आउन बाँकी छ । प्रहरीले उक्त विषयमा थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

टिप्पणीहरू