प्रचण्ड र शेरबहादुरलाई चीनबाट वर्षमानको पालैपालो फोन

प्रचण्ड र शेरबहादुरलाई चीनबाट वर्षमानको पालैपालो फोन

स्वास्थ्य उपचारको क्रममा चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् ।
 
माओवादी र एमालेबीच सत्ता सहकार्य गराउन निर्णायक भूमिका खेलेका नेता पुनले प्रचण्ड र देउवालाई पालैपालो फोन गरेर मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी गरेका हुन् । प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार उनले फोनबाट संवाद गरेको पुनको सचिवालयले जनाएको छ । 

फोन संवादका क्रममा पुनले संसदबाट झण्डै दुई तिहाई विश्वासको मत प्राप्त गरेकोमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई बधाई दिएका थिए । सो क्रममा उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी श्रृजना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढाउन प्रधानमन्त्रीलाई सुझावसमेत दिएको बताइएको छ ।

देउवासँग पुनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेण्डा लिएर जनतामा गएका दलहरु एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले प्रमुख दुई नेता गठबन्धनका दलहरु मिलेर आगामी पाँच वर्षसम्म सहकार्य गर्नुपर्नेमा जोडसमेत दिएका छन् ।  
‘हामीसँगै भएपछि चुनावमा गठबन्धन दललाई मत दिएका मतदाताको सम्मान भएको छ’, पुन–देउवा संवाद उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो, ‘यसलाई सफल पार्न दुई नेता र पार्टीले देश र जनातको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सहकार्य कसिलो कसिलो बनाएर अगाडि जानुपर्छ ।’ 

जवाफमा देउवाले गठबन्धन पाँच वर्षसम्म टिक्नेमा आश्वस्त गराएको बुझिएको छ ।

प्रचण्डको विश्वासपात्रका रुपमा चिनिने पुन माओवादी केन्द्रका प्रभावशाली नेता हुन् । उनी चीन निकट नेताका रुपमा समेत परिचित छन् । चीनमा उपचार गराइरहेका उनले यसअघि नेपाल फर्केर पुस १० गते एमाले र माओवादीबीच गठबन्धन गराउन निर्णायक भूमिका खेलेका थिए ।  

एमालेको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर फागुन १ गते पुनः चीन उडेका उनी उपचारकै क्रममा छन् । दुर्लभ जण्डिसबाट पीडित पुनले यसअघि दुई पटक चीनमा गएर उपचार गराइसकेका छन् । पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्यमा चमत्कारिक सुधार भएको छ । पूर्वसभामुखसमेत रहेकी उनकी पत्नी ओनसरी घर्ती पनि चीनमै छन् ।

टिप्पणीहरू