‘एक भगवत् गीता’ चलाएमा ओमकार सेनाले कडा प्रतिरोध गर्ने

‘एक भगवत् गीता’ चलाएमा ओमकार सेनाले कडा प्रतिरोध गर्ने
सुन्नुहोस्

हिन्दु धार्मिक संस्था ओमकार सेना नेपालले नेपाली चलचित्र ‘एक भगवत् गीता’ प्रदर्शनमा ल्याए कडा प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ । 

झरना थापाद्धारा निर्देशित चलचित्रले सनातनीहरुको पवित्र ग्रन्थ भागवत् गीताको मर्म र भावनामा प्रहार गरेको उल्लेख गर्दै संस्थाले चलचित्र प्रदर्शन गरेमा सिनेमा हलहरुबाट जबरजस्ती हटाउने चेतावनी दिएको हो । आज विज्ञप्ति जारी गर्दै ओमकार सेनाले चलचित्र निर्माण पक्ष सनातनीहरु विरुद्ध खुलेरै लागिपरेको आरोप लगाएको छ । 

‘विभिन्न हिन्दुवादी संघसंस्थाहरुले यस चलचित्रका सरोकारवाला पक्षहरुसँग बसेर पटकपटक छलफल गरि उक्त चलचित्रको नाम सुधार गरेर मात्र चलचित्र प्रदर्शन गर्न सुझाव दिँदा पनि चलचित्रको निर्माण पक्षले अटेर गरेर जर्बजस्ती उक्त चलचित्र प्रदर्शन गर्न खोज्नुले चलचित्र निर्माण पक्ष सनातनीहरु विरुद्ध खुलेर नियतवश लागेको प्रष्ट हुन्छ’, विज्ञप्तिमा उल्लेख छ । 

प्रदर्शनअगावै विवादमा तानिएको चलचित्र ‘एक भगवत् गीता’ को नाम परिवर्तन गर्नुपर्ने मागसहित विभिन्न धामिंक संघसंस्था तथा सरोकारवालाले गत भदौ २१ गते चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र बुझाएका थिए । चलचित्रले कथा एउटा र नाम अर्को राखेर धार्मिक ग्रन्थ श्रीमद्भगवद्गीताको मर्म विपरीत कथावस्तु देखाउन खोजेको उनीहरुको आरोप छ । 

यता, चलचित्रले सेन्सर अनुमति नपाएपछि निर्देशक थापाले सामाजिक सञ्जालमार्फत वेदना पोखेकी छिन् । सारा स्रोत, सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था बनाउँदा पीडा भइरहेको उनको दुखेसो छ ।

टिप्पणीहरू