काठमाडौं र ललितपुरका विभिन्न स्थानमा तीनदिन बत्ति नआउने

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा तीनदिन बत्ति नआउने

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा तीनदिन बिजुली आपूर्ति बन्द गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले स्युचाटार–टेकूअन्तर्गतका फिडरहरुमा भोलिदेखि तीनदिन विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो । 

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत लप्सीफेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाले आज सूचना जारी गर्दै टेकू, पाटन तथा केथ्री सबस्टेशन र सोसँग सम्बन्धित स्टेशनहरुबाट आपूर्ति भइरहेको क्षेत्रमा विद्युत बन्द हुने जनाएको छ । 

‘प्रथम चरणअन्तर्गत टेकू सबस्टेशनमा एक थान १३२–११ केभी, ४५ एमभीए, ट्रान्सफर्मर चार्ज र स्युचाटार तथा टेकु सबस्टेशनमा हाल ६६ केभीमा चार्ज रहेको स्विचगियर हटाउन, कन्डक्टर परिवर्तन तथा रुपान्तरण गर्न र टेकूमा प्रसारण लाइनतर्फको तीन ईभीएच केवल टर्मिनेशन गर्न तथा टेकू–स्युचाटार लाइन १३२ केभीमा चार्ज गर्न स्युचाटार–पाटन, स्युचाटार टेकू तथा स्युचाटार–केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएको छ’, जारी सूचनामा उल्लेख छ । 

स्युचाटार–टेकूअन्तर्गतका फिडरहरुमा भोलि बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म विद्युत आपूर्ति बन्द हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उक्त सबस्टेशनमा पर्ने कुलेश्वर वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका फिडरहरुमा विद्युत आपूर्ति प्रभावित हुनेछ । 

त्यस्तै, स्युचाटार–पाटनअन्तर्गत पर्ने फिडरहरुमा आउँदो भदौ ३० गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बिजुली बन्द गरिनेछ । पाटन सबस्टेशनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरुमा विद्युत प्रभावित हुने आयोजनाको भनाइ छ । 

स्युचाटार–केथ्रीअन्तर्गतका फिडरहरुमा शनिबार दिँउसो ३ देखि साँझ ५ बजेसम्म बिजुली बन्द गरिने आयोजनाले जानकारी दिएको छ ।
 

टिप्पणीहरू