आयातित जिराको अन्यत्र तस्करीपछि मूल्य आकाशिएको दाबी

आयातित जिराको अन्यत्र तस्करीपछि मूल्य आकाशिएको दाबी
सुन्नुहोस्

पछिल्लो समय जिराको मूल्य अस्वाभाविक रुपमा बढेको छ । गत पुससम्म प्रतिकिलो चार सय ५० रुपैयाँ रहेको जिराको मूल्य अहिले बढेर १२ सय ५० रुपैयाँ पुगेको छ । 

विशेषगरी चाडपर्वमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दशैंकै मुखमा अस्वाभाविक रुपमा बढेपछि उपभोक्ताहरु मारमा पर्ने निश्चित छ ।

जिराको मूल्य गत वर्षको तुलनामा यो वर्ष सय प्रतिशतभन्दा बढीले बढेको हो । पुसमा चार सय ५० रुपैयाँ रहेको जिरा माघमा बढेर पाँच सय ५० रुपैयाँ पुग्यो । यो मूल्य चैत्रसम्म कायम रह्यो । 

तर, वैशाखमा मूल्य फेरि उकालो लाग्यो । पाँच सय ५० रुपैयाँ प्रतिकेजी रहेको जिरामा एकैपटक तीन सय रुपैयाँ बढेर आठ सय ५० रुपैयाँ पुग्यो । मूल्य बढेको एक महिना पुग्दै ज्येठमा जिराको भाउ नौ सय ५० रुपैयाँ कायम भयो । तर, भदौ १ गतेदेखि यसको भाउ उपभोक्ताहरुले छोइनसक्नु गरी बढ्यो । साढे ९ सय रुपैयाँ रहेको जिराको मूल्य १२ सय ५० रुपैयाँ पुग्यो । 

बजारमा जिराको अस्वाभाविक मूल्यवृद्धि देखेर आफु अचम्मित भएको उपभोक्ता सरिता कार्की सुनाउँछिन् । उनले भनिन्, ‘हामी सर्वसाधारण जिरा प्रतिकेजी पाँच सय रुपैयाँ हुँदा त किनेर खान नसक्ने अवस्थामा थियौं । अहिले बढेर १२÷१३ सय रुपैयाँ पुगेको छ । एकातिर चाडपर्व पनि मुखैमा छ । अब कसरी किन्ने भन्नेमा चिन्तित छौं ।’

अर्की उपभोक्ता मञ्जु दाहाल महंगिएको वस्तुलाई हामी उपभोक्ताले नै उपभोगमा कमी ल्याउनुपर्ने बताउँछिन् । अस्वाभाविक रुपमा मूल्यवृद्धि गरिएको खाना पकाउने ग्याँस, जिरा, पेट्रोलियम पदार्थलगायतको खपत उपभोक्ता स्वयम्ले कम गर्नुपर्ने उनको उपाय र सल्लाह छ ।

किन बढ्यो जिरा ?

खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ जिरा भारतबाटै महंगिएर आएको दाबी गर्छन् । भारतमा जिरा उत्पादनमा ह्रास आएपछि मूल्य बढेको उनको दाबी छ । 

‘भारतबाटै महँगिएर आएको छ । त्यहाँ मूल्य बढ्नु नै अहिलेको नेपाली बजारको समस्या हो,’ उनले भने, ‘मूल्य उच्च भएका कारण भारतबाट औपचारिक रुपमा जिराको आयात गर्न नसकिएको गुनासो पनि संघमा आइरहेका छन् ।’

यसरी बजारमा मागअनुसारको वस्तु पर्याप्त नभएपछि मूल्यवृद्धि हुनु स्वाभाविक नियम भएको उनले बताए । यता, उद्योग, वाणिज्य तथा आपूर्ति विभागका निर्देशक घनश्याम सुवेदी पनि जिराको मूल्य भारतलगायत उत्पादन हुने मुुलुकमै बढेकाले त्यसको प्रभाव नेपालमा परेको बताउँछन् । 

उनले जिराको मूल्य एक्कासी बढेपछि यसबारे विभागमा गुनासोहरु आउन थालेको जानकारी दिए । तर, मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजार मूल्य नै प्रमुख कारण रहेको उनको भनाई छ । 

‘पछिल्लो समय बजारमा जिराको मूल्य अस्वाभाविक रुपमा बढेको देखिन्छ । तर, अनुगमनका क्रममा आयातमा महंगो रकम तिरिएको पाइएको छ,’ उनले भने । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले छ लाख चार हजार किलो जिरा आयात गरेको छ । जसको मूल्य २९ करोड १८ लाख रुपैयाँ छ । विभागका निर्देशक पुण्यविक्रम खड्काअनुसार जिरा आयात गर्ने क्रममा नै महँगो भएको छ । 

सरकार नै इमान्दार भएनः उपभोक्ताकर्मी

चाडपर्वको मुखमा सरकारले बजार अनुगमनलाई कडाई गर्न निर्देशन दिनुपर्नेमा उल्टै नियमक निकायका कर्मचारीहरुको सरुवा गरेर कालोबजारीलाई प्रोत्साहन गरेको उपभोक्ताअधिकारवादी ज्योती बानियाँको आरोप छ । 

‘चाडपर्वको बेलामा कालोबजारी, ठगी बढ्नाले बजार अनियन्त्रित हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा सरकारले बजार अनुगमन गर्ने निकायलाई कडाइ गर्न निर्देशन दिनुपर्छ । तर, अनुगमन निकायका जिम्मेवार पदाधिकारीको नै सरुवा बढुवा गरेपछि कसले बजार अनुगमन गर्छ ?’ उनले भने । 

केही दिनअघि मात्र सरकारले बजार नियमन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक र अनुगमन शाखा प्रमुखको सरुवा गर्यो । बजार व्यवस्थापन गर्ने ठूलो संयन्त्र अनुगमन हो । तर, सरकार आफैंले अनुगमन फितलो बनाउन चाडपर्वको मुखमा यस्तो कार्य गर्ने गरेको देखिएको उनको ठहर छ । 

बानियाँले नेपालमा आयात हुने जिरा लुकिछिपी चीनतिर लैजाने क्रम बढेकाले पनि जिराको अस्वाभाविक तवरले मूल्यवृद्धि भएको आशंका गरे । ‘अहिले नेपालमा आयात भइरहेको जिरा चीनतिर लुकीछिपी लगिरहेको सुनिन आएको छ,’ उनले भने, ‘यस विषयमा सरकार चनाखो हुनुपर्छ । उपभोक्ता मारमा पर्नुहुँदैन ।’

टिप्पणीहरू