निर्माण अलपत्र, स्थानीय क्रुद्ध

निर्माण अलपत्र, स्थानीय क्रुद्ध

सडक निर्माण कार्य अलपत्र पारेपछि मोरङको पथरी शनिश्चरे नगरपालिकाका स्थानीय विरोधमा उत्रिएका छन् । सडक विस्तारका नाममा कालोपत्रे उप्काएर अलपत्र छाडिएपछि स्थानीयले बाटो बन्द गरेका हुन् । 

वडा नम्बर १० मा रहेको गान्धी मनमोहन सडक स्थानीयले अवरुद्ध गरेका छन् । छ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि स्थानीयले हिजोदेखि सडक अवरुद्ध गरेको नगरप्रमुख मोहनप्रसाद तुम्बापोले बताए । 

सडक निर्माणको काम तत्काल थाल्न माग गर्दै स्थानीय आन्दोलित भएका हुन् । मोहनका अनुसार संघीय सरकारले ठेक्का लगाएको सडकमा एक वर्षदेखि कुनै प्रगति देखिँदैन । उक्त सडक निर्माणको ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको हो । 

‘संघीय सरकारले ठेक्कामा दिएको रहेछ । छ वर्ष भइसक्यो, तर कुनै प्रगति छैन । एक वर्षदेखि काम ठप्प छ । सडक विस्तार गर्ने भनेर छँदाछँदैको पिचलाई उप्काइएको छ । बर्खामा गाडी जाँदैन, हिउँदमा स्थानीय धुँलोले हिँड्न सक्दैनन् । सडक नबनेसम्म अवरुद्ध नखोल्ने अडानमा स्थानीय छन्’, उनले भने । 

स्थानीयसँग छलफलको कोशिस गरिएपनि उनीहरुले सडक खोल्न नमानेको नगरप्रमुख तुम्बापोले सुनाए । जिल्ला प्रशासन कार्यालय, मोरङमा सडक निर्माणको विषयमा छलफल भइसकेको उनले जानकारी दिए । 

मेयर भन्छन्, ‘सिडियो कार्यालयमा सडक निर्माणको विषयमा छलफल भइसकेको छ । निर्माण कम्पनीले एक साताभित्र सडक निर्माण थाल्ने प्रतिबद्धता जनाएको छ । यो कुरा हामीले स्थानीयलाई भन्यौं तर उहाँहरुले मान्नुभएन ।’

पथरी शनिश्चरे नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका हुँदै भारतको सीमासम्म पुग्ने ३० किलोमिटरको बाटो लामो समयदेखि अलपत्र हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

टिप्पणीहरू