कर समायोजन नगरिए रास्वपाले आन्दोलन चर्काउने

कर समायोजन नगरिए रास्वपाले आन्दोलन चर्काउने
सुन्नुहोस्

सुनसरीको इटहरी उपमहानगरपालिकाले अवैज्ञानिक ढंगले बढाएको कर समायोजन नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रावस्पा) ले आन्दोलनको चेतावनी दिएको छ । रास्वपा इटहरी उपमहानगर कार्य समितिले मंसिर मसान्तसम्म कर समायोजन नगरे पुस १ गतेबाट विरोध कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ ।

‘मंसिर मसान्तसम्म कर समायोजन नभए पुस १ गतेबाट अझ सशक्त ढंगबाट विरोध कार्यक्रम ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी उपमहानगर कार्य समिति बाध्य हुनेछ,’ आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उपमहानगरले जनताको ढाड सेक्ने गरी अवैज्ञानिक ढंगले अत्याधिक कर वृद्धि गरेको विरोधमा समितिले गत साउन १४ गते नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । कर समायोजनको माग सम्बोधन नभएपछि समितिले साउन २५ गतेबाट उपमहानगरको गेटअगाडि धर्ना दिएको थियो । 

भदौ १९ गते इटहरीको सम्पूर्ण वडामा अत्यधिक कर वृद्धि विरुद्धमा हस्ताक्षर संकलन गरिएको थियो । असोज ५ गते मुख्य चोक आसपास विरोध र्याली गरेर उपमहानगरको गेटअगाडि हस्ताक्षर संकलन प्रदर्शनीसहित विरोध कार्यक्रम गरिएको र नगर प्रमुखलाई पुनःध्यानाकर्षणपत्र बुझाइएको बताइएको छ ।

सो क्रममा नगर प्रमुखले मंसिर मसान्तसम्म कर समायोजन हुने दिएकाले विरोध कार्यक्रम स्थगित गरिएको र उक्त म्यादसम्म समायोजन नभए पुस १ गतेदेखि थप सशक्त ढंगले विरोध कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ ।

टिप्पणीहरू