सगरमाथाको मलमुत्र कसले गर्ने सफाइ ?

सगरमाथाको मलमुत्र कसले गर्ने सफाइ ?
सुन्नुहोस्

विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ,यो हामी सबैलाई थाहा छ । हामी गौरव गर्छौ कि सगरमाथाले नेपालको पहिचान फराकिलो बनाएको छ । तर, देशकै पहिचान बोकेको सगरमाथा कस्ता-कस्ता समस्याहरुबाट गुज्रिरहेको छ ? यसवारे न राज्यको ध्यान पुगेको छ,न आममान्छेलाई चासो छ ।   

सगरमाथासँग प्रत्यक्ष जोडिने सरकारी निकाय हो, पर्यटन मन्त्रालय । तर, मन्त्रालयलाई समेत सगरमाथामा के भइरहेको छ भन्ने चासो नभएको आधार शिविर क्षेत्रका स्थानीयहरुको गुनासो छ । 

गत फेब्रुअरी ८ मा बिबिसी विश्वले 'सगरमाथामा फोहोर थुप्रिदै' भन्ने आशयसहित एउटा लामो रिपोर्ट प्रकाशित गर्यो । यससँगै अहिले विश्वकै ठूला र प्रमुख अन्तर्राष्ट्रिय  मिडियामा नेपाल 'हटकेक'को विषय बनेको छ ।

 

विश्वकै प्रख्यात वातावरण विज्ञहरुको सूचीमा पर्ने नेपाली मूलका (जो अहिले लण्डनमा बस्छन्) नविन खड्काले सगरमाथामा थुप्रिदै गएको फोहोरले विदेशी आरोही तथा पर्यटकहरुलाई नराम्रो सन्देश दिएको बताएका छन् । स्मरण रहोस्, बिबिसी विश्वका लागि उनै खड्काले सगरमाथाको सुक्ष्म अध्ययन गरेर लामो रिपोर्ट तयार पारेका हुन् ।

५ प्रतिशत आरोहीले मात्र आफ्नो मलमुत्र आधार शिविरमा ल्याउने र बाँकी ९५ प्रतिशत आरोहीहरुले हिउँमै मलमुत्र विसर्जन गरेका छन् । 

बिबिसी हेडक्वाटरमा कार्यरत खड्काका अनुसार अहिले सगरमाथाको फेदमा रहेको 'क्याम्प वन' र चुचुरोनजिक रहेको 'क्याम्प फोर'का बीचमा करिब तीन टन दिसा थुप्रिएको छ । रिपोर्ट  प्रकाशित भएपछि अहिले सगरमाथा बचाउन स्थानीय तह र गैरसरकारी संस्थाले केही पहल थालेका छन् । 

जसअनुसार अब सगरमाथा आरोहणका लागि जाने स्वदेशी तथा विदेशी आरोहीहरुले आफ्नो मलमुत्र आधार शिविरसम्म फिर्ता ल्याउनुपर्नेछ । यसअघि केही आरोहीले हिँउमा खाल्डो खनेर दिशा-पिसाब गर्ने गरेका थिए भने केहीले प्लास्टिकमा पोको पारेर हिँउमै गाड्ने गरेका थिए । 

सगरमाथा प्रदूषण नियन्त्रण समिति नामक गैरसरकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाका अनुसार अहिलेसम्म ५ प्रतिशत आरोहीले मात्र आफ्नो मलमुत्र आधार शिविरमा ल्याउने गरेका छन् । बाँकी ९५ प्रतिशत आरोहीहरुले हिउँमै मलमुत्र विसर्जन गर्ने गरेका थिए । 

सगरमाथामा अत्यधिक चिसो हुने भएकाले महिनौँसम्म पनि दिसा सड्दैन। कहिलेकाहीं त यस क्षेत्रमा तापक्रम माइनस ४२ डिग्री सेन्टिग्रेडसम्म पुग्छ । यसले दिसापिसाव लामो समयसम्म यथावत नै राख्छ, जसले गर्दा फोहोर झन् झन् बढ्दै गएको पाइन्छ । 

तर, अब भने आरोहीले आफ्नो मलमुत्र हिँउमा बिसर्जन गर्न पाउने छैनन् । यदि कसैले हिमाल चढेर फर्कदा आफ्नो मलमुत्र नल्याएको पाइएमा महंगो जरिवाना तिर्नु पर्नेछ । यो नियम आगामी चैत १ गतेबाट लागू हुने बताइएको छ । 

समितिका प्रमुख कार्यकारी अधिकृत शेर्पाले भनेका छन्, 'विशेष गरी सफाइका लागि पुग्न नसकिने उच्च शिविरहरूमा मानव मल ठूलो समस्याको रूपमा रहेको छ ।' उनका अनुसार अब आरोहीहरुई आधार शिविरमा संस्थाले आफ्नो मलमुत्र संकलनको लागि एक-एक वटा झोला उपलब्ध गराउनेछ । 

संसारकै अग्लो हिमालको रुपमा चिनिएको सगरमाथाको गौरवपूर्ण अस्तित्व बचाउन यो व्यवस्था लागू गर्न लागिएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले बताए । 

'हाम्रा हिमालहरू गनाउन थालिसके । विश्वकै अग्लो हिमाल भनेर गौरव गर्ने, अनि त्यही हिमालको अस्तित्व धरापमा पार्न सकिन्नँ', उनले भनेका छन्, 'हिमालका ढुङ्गामा दिसा देखिएको र पर्वतारोहीहरू बिरामी पनि परेको गुनासो हामीले सुनेका छौँ । यो कदापि स्वीकार्य छैन र यसले हाम्रो छवि बिगार्छ ।'

हिमाली जिल्लाहरुमा हुने पर्यटक गतिविधिबारे सरकारलाई वास्ता नभएको पनि मिङ्गमाको गुनासो छ । सरकारलाई सगरमाथा नेपालमै छ भन्ने मात्र थाहा भएको, तर त्यहाँ भइरहेका गतिविधिबारे एक प्रतिशत पनि चासो नभएको भन्दै उनले दु:खेसो पोखे । 

उनले थप्दै भने, 'आधार शिविरमा राज्यको उपस्थिति अत्यन्तै न्यून छ । त्यसले गर्दा अनुमतिबिना हिमाल आरोहणदेखि लिएर अन्य थुप्रै प्रकारका अनियमितताहरू हुँदै आएका छन् ।'

आफूहरु स्थानीयस्तरबाटै भए पनि सगरमाथा बचाउन लागिपरेको अध्यक्ष शेर्पाको भनाई छ ।  सम्पर्क कार्यालयबारे जानकारी दिंदै भने, 'अब यो अवस्थाको अन्त्य हुने छ । हामी आधार शिविरमा एक सम्पर्क कार्यालय स्थापना गर्ने छौँ र हाम्रा सबै नियम कडाइका साथ पालना गराउने छौँ ।'

विद्युतीय चिप पनि अनिवार्य

अबदेखि सगरमाथा आरोहीहरुले अनिवार्य रुपमा आधार शिविरबाट विद्युतीय चिप पनि लगाउनुपर्ने भएको छ । आरोहीहरुले आफ्नो अनुकूल हात, खुट्टा वा भित्री तथा बाह्य पोशाकमा चिप लगाउन सक्नेछन् । 

आरोहीहरु हिमपहिरोको कारण दुर्घटनामा परेमा वा नक्सा 'कन्फ्युजन'का कारण कतै हराएमा उनीहरुको उद्धार गर्न सजिलो होस् भन्ने हेतुले चिप प्रयोगलाई अनिवार्य गर्न लागिएको हो । चिपको शुल्क भने आरोहीहरुले अलग्गै तिर्नुपर्नेछ । जसको मूल्य १० देखि १५ डलरसम्म पर्नेछ ।

 

चिपको सहयोगले हिँउमा जत्ति तल पुरिएका आरोहीहरुको पनि लोकेशन ट्र्याक गरेर सजिलै उद्धार गर्न सकिने पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताए । उनले भनेका छन्, 'हामीले खोज तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाउनका निम्ति आरोहीहरूको चिप जडानलाई अनिवार्य बनाउने भएका छौँ ।' 

अहिले डिटेक्टर प्रणालीमा काम भइरहेको पनि उनले जानकारी दिएका छन् । गुरुङले थप्दै जानकारी दिए, 'अन्तर्राष्ट्रिय बजारमै परिक्षित अनि प्रयोग भएका गुणस्तरयुक्त चिपहरू एजेन्सीमार्फत् दिने गरी हामी प्रयोगमा ल्याउँछौँ। अनि त्यसलाई पत्ता लगाउने डिटेक्टर प्रणाली पनि व्यवस्थित गर्नुपर्ने छ ।'

टिप्पणीहरू